एमालेसँग चुनावी तालमेलको ढोका खुलै छ : नेता पुन

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेकपा एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन्। पुनले आगामी तीनै तहको निर्वाचनमा सत्ता गठबन्धनका काँग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीसँग तालमेलमा पहिलो जोड दिने बताए।

तर एमालेसँग पनि सहकार्यको ढोका बन्द नराख्ने नीति आफूहरूले अख्तियार गरेको पुनले बताएका छन्। ‘सत्ता गठबन्धनबीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ,’ पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधवार सम्बोधन गर्दै पुनले भने, ‘एमालेसँग पनि ढोका बन्द गरेका छैनौं।’

यद्यपि माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको पनि उनले जिकिर गरेका छन्। ‘चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौं, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं,’ पुनले भने।

उनले बहुमत स्थानीय तह जितेका काँग्रेस र एमालेका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएको आरोप पनि लगाए। तर, माओवादीले जितेका स्थानीय तहमा राम्रो र नमुना योग्य काम भएको उनले दाबी गरे। कार्यसम्पादनमा उत्कृष्ट पाँच पालिकामध्ये तीन माओवादीले जितेका भएबाट पनि स्थानीय तहमा राम्रो गरेको प्रमाणित हुने उनले बताए।

‘देशभर उत्कृष्ट ठहरिएका पाँचमा तीन हामीले जितेका पालिका छन्, यसले पनि हाम्रो क्षमता दर्साउँछ,’ उनले भने। माओवादीले जितेका १ सय १६ वटै पालिकामा अन्य दलको भन्दा राम्रो काम भएको दाबी उनले गरे।