स्थानीय चुनावका लागि सिके राउतको जनमत पार्टी पहिलो नम्बरमा दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जम्मा ७९ वटा दल दर्ता भएका छन्।

निर्वाचन आयोगका अनुसार दर्ता भएका ७९ दलमध्ये सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो नम्बरमा दर्ता भएको छ।

आयोगले निर्वाचनका दल दर्ताको आह्वान गर्दा जनमत पार्टी पहिलो नम्बरमा दर्ता हुन गएको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहको निर्वाचनका लागि ८० वटा दलले निवेदन दिएका थिए।

आयोगमा जम्मा १११ वटा दल दर्ता छन्। आयोगले फागुन ५ गते सूचना प्रकाशित गरी १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको थियो।

स्वतन्त्र मधेस अभियानका नाममा पृथकतावादी आन्दोलन गरिरहेका राउत २०७५ फागुनमा सरकारसँग सहमति गरेर मूल धारको राजनीतिमा आएका थिए। केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले उनीसँग ११ बुँदे सहमति गरेको थियो।

मूलधारको राजनीति आएपछि उनले जनमत पार्टी खोलेका थिए। पछिल्लो समय उनको पार्टीले मधेस प्रदेश राजनीतिक गतिविधि गर्दै आएको छ।

केही महिनाअघि किसान आन्दोलनको नाममा उनको पार्टीले मधेसका विभिन्न जिल्लामा बन्द हड्तालजस्ता कार्यक्रम गरेको थियो।

पृथकतावादी आन्दोलनले चर्चामा आएका राउतले यसपालि पहिलो पटक चुनाव सामना गर्न लागेका हुन्।

जनमत पार्टीका महासचिव चन्दन सिंहले आफ्नो पार्टीले यसपालि संगठन भएका क्षेत्रमा उम्मेदवारी दिने बताए।

‘पहिलो प्राथमिकता त मधेस प्रदेश छ। बिस्तारै देशभरि जाने हो। यसपालि हाम्रो प्रभाव भएका झापादेखि कैलालीसम्मका विभिन्न ठाउँमा उम्मेदवारी दिन्छौं,’ सिंहले भने।

उनले होलीपछि पार्टीको बैठक बसेर चुनावी अभियान कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय हुने बताए।