मार्क्सवादी दर्शनको विकास र विश्व सान्दर्भिकता

  • मिलन आफन्त

विश्वका हरेक वस्तु, घटना, प्रक्रिया एवं चिन्तन र अस्तित्व तथा चेतना र पदार्थबीचको सम्बन्धको विषयमा हेर्ने दृष्टिकोण नै दर्शन हो। द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्व दृष्टिकोण हो। आज यो मार्क्सवादी, लेनिनवादी, माओवादी दर्शनका तेस्रो नयाँ र उच्च शिखरमा गुणात्मक रूपले विकसित हुन पुगेको छ।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनेको मार्क्सवादी दर्शन हो, जसले विश्वको व्याख्या मात्र गरेको छैन, अपितु बदल्ने आँखा पनि खोलिदिएको छ। सामान्यतः अहिलेसम्मको मानव समाजको विकास र विशेषतः १८ औं शताब्दी उत्तरार्द्ध यताको सामाजिक क्रान्ति, अग्रगामी उथलपुथल र गुणात्मक फट्कोको गर्भमा यही दर्शनले काम गरेको छ। मार्क्सवादी दर्शनको विकासमा लेनिन र माओले ठूलो योगदान पुर्‍याएका छन्। जसलाई हामी यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं।

मार्क्सवादी दर्शनको विकासमा लेनिनवादी आयाम

दर्शन सम्बन्धी मार्क्सवादी सिद्धान्तका सवालमा लेनिनले व्याख्या गरेका छन्, ‘हामी मार्क्सका सिद्धान्तलाई कुनै अन्तिम र अनुल्लंघनीय ठान्दैनौं। यसको विपरीत हामी के कुरामा विश्वास गर्छौं भने यसले केवल त्यस विज्ञानका जगको ढुंगा मात्र हालेको छ। जसलाई समाजवादीहरूले दसैं दिशामा विकसित तुल्याउनै पर्छ। यदि उनीहरू जीवनसँगै कदम मिलाउन चाहन्छन् भने यस सिद्धान्तले केवल सामान्य निर्देशक सिद्धान्त मात्र प्रदान गर्दछ। जसलाई विशिष्ट रूपमा बेलायतमा फ्रान्सको भन्दा फरक, जर्मनीको भन्दा बेग्लै र जर्मनीमा रुसको भन्दा भिन्न ढंगले प्रयोग गरिएको छ।’

मार्क्सवादी दर्शनको आधारमा लेनिनले सञ्चालन र नेतृत्व गरेको व्यवहारिक क्रान्ति मार्फत मार्क्सवादी सिद्धान्तले द्वन्द्वात्मक भौतिकवादको वैज्ञानिकता मात्र पुष्टि गरेनन्, अपितु सर्वहारा वर्गलाई दासताबाट मुक्त गर्दा अन्य सम्पूर्ण उत्पीडित जात, राष्ट्र, क्षेत्र, लिङ्ग, वर्ग र समुदाय पनि मुक्त हुने वैज्ञानिकतालाई प्रमाणित गरिदिए। जसको कारण मार्क्सवादी दर्शनको आलोकमा संसारभर सर्वहारा व्यक्तिको लहर नै सृष्टि भयो।

मार्क्सवादी दर्शनको विकासमा माओवादी आयाम

माओले मार्क्सवादी लेनिनवादी दर्शनलाई ज्ञान सिद्धान्तको रूपमा परिभाषित गरेका छन् र सहिज्ञान भनेको वर्गसंघर्ष, उत्पादनका निमित्त संघर्ष र वैज्ञानिक प्रयोगबाट आर्जन कुराको स्पष्ट व्याख्या गरेका छन्। माओले फाँसीवादी रूप धारण गरेको साम्राज्यवाद र सर्वहारा वर्ग तथा अर्ध सामन्ती, अर्धऔपनिवेशिक अवस्थाकै उत्पीडित जनता र राष्ट्रको बीचको अन्तर्विरोधलाई सही ढंगले विश्लेषण गरी त्यसको समाधानको रूपमा नयाँ जनवादी क्रान्तिको संश्लेषण गरे। जसलाई चिनियाँ भूमिमा व्यवहारिक प्रयोग सहित प्रमाणित गरेर देखाइदिए। उनले विशेषतः तेस्रो विश्वका मुलुक र त्यहाँको जनताको राष्ट्रियता र प्रजातन्त्रको एकीकृत मुक्तिको मार्ग पहिल्याउने सवालमा मार्क्सवादी, लेनिनवादी दर्शनको सिर्जनात्मक प्रयोग र विकास गरे।

मार्क्सवादी दर्शनमा मार्क्स, एंगेल्स हुँदै लेनिन, माओले धेरै नै विकास गरे। जसबारे हामीलाई मार्क्सवादी दर्शनको विकासमा लेनिनवादी आयामबाट र मार्क्सवादी दर्शनको विकासमा माओवादी आयामबाट स्पष्ट हुन्छ। मार्क्सवादीबिना विश्व क्रान्ति सम्भव छैन। मार्क्सवादी दर्शन भनेको हरेक बस्तु, प्रकृति र मानव समाजलाई बुझ्ने र त्यसै अनुसार आफ्नो जीवनको बाटो ठम्याउने वास्तविक भित्री दृष्टि हो। मार्क्सवादी दर्शनको भनेको हरेक बस्तु, प्रकृति र मानव समाजलाई बुझ्ने र त्यसै अनुसार आफ्नो जीवनको बाटो ठम्याउने वास्तविक भित्री दृष्टि हो। मार्क्सवादी दर्शनको मूल कडी द्वन्द्वात्मक भौतिकवाद भनेको सर्वहारा वर्गको मुक्तिको दर्शन हो। साँचो अर्थमा भन्ने हो भने मार्क्सवादी दर्शन सर्वहारा वर्गको मुक्तिको मार्ग हो।