अन्तर्राष्ट्रिय साहसी महिलाको पुरस्कार भूमिका श्रेष्ठलाई

फाल्गुन ५, काठमाडौं ।

अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिलाको रूपमा अधिकारकर्मी भूमिका श्रेष्ठलाई पुरस्कार प्रदान गरेको छ । समुदायमा हक अधिकारको लागि गरेको योगदानका कारण भूमिले उक्त पुरस्कार पाएकी हुन् ।

अमेरिकी विदेश मन्त्रालयले यसवर्ष २०२२ को पुरस्कार भूमिकालाई दिएको नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । नारी दिवसको अवसरमा अमेरिकी राज्य विभागका राज्य सचिव एन्टोनी जे ब्लिन्केनले भर्चुअलमार्फत वार्षिक इन्टरनेशनल वुमन अफ करेज अवार्ड आयोजना गरेका हुन् ।

भूमिका श्रेष्ठले सन् २००७ देखि नेपालमा तेस्रो लिङ्गीहरूको अधिकार र सामाजिक न्यायको वकालत गरिरहेकी छिन् ।

ट्रान्सजेन्डरविरुद्धको सामाजिक कलंक र ऐतिहासिक पूर्वाग्रहको बाबजुद श्रेष्ठले लैङ्गिक अल्पसंख्यक मान्यताको आन्दोलनको नेतृत्व गरेकी छन् । उनले २०२१ मा आफ्नो नागरिकता महिलामा परिवर्तन गरेकी थिइन् ।