के हो करणवाद ?

अमेरिकी दार्शनिक ड्यूई र उनका अनुयायीहरूको आत्मगत-आदर्शवादी मत, व्यावहारिकतावादको एउटा प्रकार। ड्यूईका अनुसार कर्ता तथा विषय, विचारहरू तथा तथ्यहरू, मानसिक तथा शारीरिकको बीचमा अन्तर, अनुभवको अन्तर्गत अन्तर, स्थितिका तत्त्वहरू, कुनै घटनाका पक्ष मात्र हुन्। यस्ता अस्पष्ट पदहरू र अनुभवहरूको सामाजिकताका उदाहरणहरूको सहायताबाट यो दर्शनको आदर्शवादी स्वरूपमाथि पर्दा लगाइन्छ। करणवादका अनुसार अवधारणाहरू, वैज्ञानिक नियम र सिद्धान्त उपकरण, औजार, ‘स्थितिको साँचो’, ‘कार्यका योजनाहरू’ हुन्।

संज्ञानलाई शरीरको एउटा जीवन्त कार्य मान्दै करणवादले यो कुरालाई अस्वीकार गर्दछ कि यसको महत्त्व वस्तुगत जगतलाई प्रतिबिम्बित गर्ने यसको क्षमतामा निहित छ, सत्यप्रति यसको दृष्टिकोण आत्मगतवादी छ, त्यो यसको लागि कुनै न्यायसंगत चीज हो, जसले सम्बद्ध स्थितिमा सफलता सुनिश्चित गर्दछ। ड्यूई र उनका अनुयायीहरूले सामाजिक वर्गहरूको वास्तविकतालाई स्वीकार गर्दैनन्, उनीहरू सामान्यतया समाज, राज्य, व्यक्तिको अधिभूतवादी अमूर्तकृत अवधारणाहरूको उपयोग गर्दछन्। करणवादी प्रगतिको सिद्धान्तअनुसार प्रगति समाजद्वारा निश्चित लक्ष्यहरूको सिद्धिमा होइन, बरु स्वयं गतिशीलताको प्रक्रियामा निहित हुन्छ। वास्तवमा यो सिद्धान्तले वर्नस्टीनको यो अवसरवादी नारालाई पुनर्जीवित गर्दछ : ‘अन्तिम लक्ष्य केही होइन, गतिशीलता सबै कुरा हो।’ ड्यूईका मुख्य अनुयायीहरू (एस. हुक, जे. चाइल्ड्स, एम. मीड) मार्क्सवादको सक्रिय विरोधी हुन्।

कर्तव्य – नीतिशास्त्रको एउटा प्रवर्ग, जुन विशेष नैतिक सम्बन्धको द्योतक हो। नैतिक दायित्वले सबै मानिसहरूमाथि लागू गरिएपछि कर्तव्यको रूप ग्रहण गर्दछ, जब यो व्यक्तिद्वारा विशिष्ट परिस्थितिमा ग्रहण गरिएको व्यक्तिगत कार्यभार बन्दछ। व्यक्ति यहाँ नैतिकताको सक्रिय कर्ता हो, जो स्वयं नैतिक दायित्वको बारेमा सचेत छ र आफ्नो क्रियाकलाप यसको पूर्ति गर्दछ। गैरमार्क्सवादी नीतिशास्त्रमा कर्तव्यको स्रोत ईश्वरको इच्छा वा बुद्धि (नवटमसवाद, नवप्रोटेस्टेन्टवाद), अनुभव निरपेक्ष नैतिक नियम (कान्ट, अन्तःप्रज्ञात्मकतावाद), इतिहासभिन्न मानव प्रकृति वा बाह्य प्रकृतिका नियमहरू (प्रकृतिवाद) मा खोजिएको थियो। मार्क्सवादी नीतिशास्त्रले कर्तव्यको स्रोत इतिहासका नियमहरूमा देख्दछ, जुन समाज तथा वर्गहरूका मागहरू र कार्यभारहरूको रूपमा प्रकट हुन्छन्।

कर्तव्य समाजको (मानिसहरूको समूह वा व्यक्तिको) प्राधिकारमाथि आधारित हुँदैन, यो प्राधिकारका स्वयं आफ्ना वस्तुगत आधार हुन्छन्। त्यसकारण व्यक्तिले कसैद्वारा निरुपित अथवा स्वतःस्फूर्त ढंगले स्थापित सिद्धान्तहरूको पालन गर्नुपर्दैन, बरु उसले तिनीहरूको सामाजिक मूल तथा आफ्नो वा सामूहिक क्रियाकलापमाथि प्रभावहरूसँग अवगत हुनुपर्दछ। यो कम्युनिष्ट नैतिकताको एउटा अपरिहार्य सिद्धान्त हो, जसको कारण मानिसले आफूलाई सम्पूर्ण मानव जाति र इतिहासको सिर्जना दुवैका हितहरूको सचेत सेवाको अधीन बनाउँदछ। देशको सामाजिक-आर्थिक विकासको तीव्रताका कार्यभारहरूको समाधान गर्ने समाजवादी समाजका अवस्थाहरूमा व्यक्तिको सर्वोच्च कर्तव्य भिन्न-भिन्न ठोस परिस्थितिहरूमा आफ्नो क्रियाकलापद्वारा यो उद्देश्यको सिद्धिमा योगदान गर्नु र कुनै पनि विशिष्ट सामाजिक कार्यभारको पछाडि सामान्य ऐतिहासिक परिप्रेक्ष्यलाई हेर्नु हो।

कर्तव्यशास्त्र – नीतिशास्त्रको एउटा शाखा, जसमा कर्तव्य, नैतिक अपेक्षा र मानकहरू तथा नैतिकताको लागि

सामाजिक आवश्यकताको अभिव्यक्तिको रूपमा सामान्यतया दायित्वमाथि विचार गरिन्छ। यो शब्दलाई बेन्थमले प्रचलनमा ल्याएका थिए, जसले समग्र रूपमा नैतिकताको सिद्धान्तलाई व्यक्त गर्नको लागि यसको उपयोग गरेका थिए। पछि गएर कर्तव्यशास्त्र नैतिक मूल्यशास्त्रबाट – असल र खराबको सिद्धान्त, सामान्यतया नैतिक मूल्यहरूबाट – अलग भयो। दायित्वले (कुनै यस्तो चीज, जसलाई अवश्य सम्पन्न वा पूर्ण गरिनुपर्दछ), जसको माध्यमबाट नैतिकताले सामाजिक नियमहरूका अपेक्षाहरूलाई, जसमा व्यक्ति तथा समाजका आवश्यकताहरू सम्मिलित छन्, अभिव्यक्त गर्दछ, विशेष आदेश, सामान्य मानक, आचरणका सामान्य सिद्धान्तहरू, नैतिक वा सामाजिक आदर्शमा भिन्न-भिन्न रूप धारण गर्दछ।

यी रूपहरू तथा यिनीहरूको सहसम्बन्ध कर्तव्यशास्त्रको अध्ययनको विषय हुन्। नीतिशास्त्रका अनेक बुर्जुवा सिद्धान्तले (अन्तःप्राज्ञात्मकतावाद, आदिले) दायित्वको क्षेत्रको मूल्यसँग सम्बन्ध विच्छेद गर्दछन्। तिनीहरूको विपरीत मार्क्सवादी नीतिशास्त्रले तिनीहरूको बीचमा घनिष्ठ सम्बन्ध स्थापित गर्दछ, तिनीहरूलाई एउटै नैतिक दृष्टिकोणका दुई पक्ष मान्दछ। त्यसैकारण मार्क्सवादी नीतिशास्त्रले कर्तव्यशास्त्रलाई कुनै विशेष सैद्धान्तिक विद्या वा नीतिशास्त्रको स्वतन्त्र क्षेत्र मान्दैन र यसलाई नीतिशास्त्रको अध्ययनको एउटा यस्तो निश्चित पक्ष मात्र मान्दछ, जससँग आफ्ना कैयौं विशेष कार्यभारहरू हुन्छन्। बढी संकुचित अर्थमा कर्तव्यशास्त्र चिकित्साकर्मीहरूको व्यवसायगत नैतिकता हो, जसको लक्ष्य मनोचिकित्सा, चिकित्सासम्बन्धी नीति-आचारको पालनको साहयताबाट उपचारको अधिकतम लाभको प्राप्ति हो।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट