‘प्रेम बिना संसार निसार छ प्रेमको कथा कहिल्यै टुङ्गिन्न’-सुरेन्द्र महर्जन

१) नेपाल साहित्य जगतमा तपाईंको साहित्य लेखनले धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ अहिलेसम्म कति वटा साहित्य कृतिहरु लेख्नु भएको छ ?
* नेपाली भाषा साहित्य र कला विकासको निमित्त र नेपाली साहित्य क्षेत्रमा लागेको पनि करिब करिब चार दशक भयो । २०४२ सालबाट कविता लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेर लेख्दै जाँदा भनौं साहित्यमा लाग्दै गर्दा कविता, कथा, गीत, उपन्यास, हाइकु, तान्का, गीतिकविता, गीतिनाटक, लघुकथा अनि नेपाली इतिहासमा दोस्रो नेपाली कथानक गीति चलचित्रसम्म बनाउन सफलता मिलेको छ । २०५२ सालदेखि नेपाल अधिराज्यभरी ठाउँ ठाउँमा पुगेर साहित्यिक कार्यक्रम सम्पन्न गर्न पाएकोमा खुशी लाग्छ साहित्यको निमित्त समय दिएको छु र अहिलेसम्म मैले लेखेका २९ वटा कृति नेपाली साहित्य क्षेत्रमा समर्पण गरेको छु ।

२) तपाईं साहित्यकार नै हुन्छु एउटा लेखक नै भएर जिन्दगी बिताउन्छु भन्ने सोच र हौसला कहाँबाट प्रदान भयो ?
* सानो छँदादेखि साहित्यमा लाग्ने ठुलो चाहना मनमा पलाएको थियो र सानै उमेरमा साहित्यमा लागें तर साहित्यकार बन्छु भन्ने उदेश्य थिएन लेख्दै जाँदा धेरैभन्दा धेरै सृजना भएपछि पत्रपत्रिकामा २०४६ बाट मेरो सृजनाहरू प्रकाशित हुन थाल्यो । साहित्यमा लाग्न मलाई एकजना दाजु जो झापाका राजेन्द्र सुवेदीबाट धेरै प्रेरणा मिल्यो । त्यसप्रति वरिष्ठ पत्रकार प्रदिप गिरी, सुरेश राई, शिव नेपाल, एन पि दाहाल, राजकुमार चौधरी लगायत सबैले हौसला दिनुभएको हुनाले साहित्यमा लाग्न सजिलो भयो । साहित्यकार बन्ने अवसर मिल्यो । जिन्दगीमा साहित्यमा लागेर सबैको मन मुटुमा बस्न सफल भएँ खुशी लाग्छ । साहित्यमै लागेर जिन्दगी चैं कटाउन हाम्रो देशमा धेरै मुस्किल छ तर सबैको साथले साहित्यमा लाग्ने हौसला पाएको छु । अब नमरेसम्म साहित्य लेखन नछाड्ने प्रण पनि गरेको छु ।

३) अहिलेसम्म तपाईंका धेरै साहित्य कृतिहरू प्रकाशन भएका छन् ती कृतिमा सबैभन्दा मन पर्ने कृति तपाईंको कुन हो र किन ?
* अलि अप्ठ्यारो प्रश्न गर्नु भयो तर पनि जहाँ समस्या त्यहाँ उपाय भने झैं मेरो अहिलेसम्म प्रकाशित कृति मेरो सन्तान भएको सोच्ने गर्छु सन्तान जस्तो सुकै किन नहोस् सबै प्यारो नै लाग्छ त्यसमा नाम नै लिनुपर्दा मेरो ११औं कृति ”अनुष्का” उपन्यास मलाई सार्‍है मन पर्छ । धेरै पटक म आफै अनुष्का उपन्यास अध्यन गर्छु र अडियोमा रहेको उपन्यास धेरै भन्दा धेरै स्रोताहरूले पनि मन पराउनु भएको छ । यसको मतलब अरु कृति मन पर्दैन भन्ने चैं पक्कै हैन । मलाई आफूले सृजना गरेको चाहे हाइकु, तान्का, गीत, कथा आदि सबै प्यारो नै लाग्छ ।

४) एउटा सत्य हो कि झुट सुरेन्द्र जी ‘अनुष्का’ उपन्यासको एकतर्फी प्रेमको बारेमा जुन लेखियो छ नि त्यस कथाको केटा पात्र तपाईं नै हो भन्ने एउटा युवामाझ निकै चर्चा छ नि, तपाईं यस बारे के भन्न चाहनु हुन्छ ?
* उपन्यास लेखनमा कथावस्तु अनुसार पात्रहरूको खोजी गर्दै जाँदा आफूले बिर्सन नसकेको यादलाई कथाभित्र समेट्दा काल्पनिक पात्र मात्रै हैन त्यो कथामा मैले आफूलाई पनि पाएको छु । सत्य लुकाएर कहाँ लुक्ने रहेछ ? सत्य त सबैको सामुन्ने आउने रहेछ । जुन कुरा भाइले प्रश्न गर्नु भयो । जो जसले अन्दाज लगाउनु भएको छ त्यो बास्तवमा सत्य हो । प्रेम अमर छ प्रेमको कथा कहिल्यै टुङ्गिन ईश्वरको कृपा भनौ या बरदान, यो चराचर जगतमा प्रेम नभै दिएको भए न म लेख्थें न कथा बन्थ्थो । प्रेम बिना संसार निसार छ प्रेमको कथा कहिल्यै टुङ्गिन्न जस्तो कि हामी यो जुनीमा जन्म अभिनय गर्न जन्मिन्छौं भन्ने सुनेको छु सायद अनुष्का उपन्यासमाभित्र त्यो संसारभन्दा फरक अभिनयमा पात्र चैं मैले नै गरेको जस्तो लाग्छ ।

५) तपाईंले साहित्य लेखनकोलागि के के गर्नुहुन्छ ? कुनै विषय ठाउँमा बसेर लेख्नु हुन्छ कि आफ्नो मुड अनुसार लेख्नु हुन्छ ?
* प्राय: त साहित्य लेखन कुनै ठाउँ वा विषय अनुसार लेख्दिन म, मनमा सृजना पलाएको बेला दिन होस् या रात मलाई कुनै व्यक्ति वा स्थानको महत्त्व हुँदैन । मनमा आएको बेला लेख्ने बानी परेको कारण चाहे गीत होस् चाहे कविता लेखिसकेर मात्रै म अन्यत्र जान्छु । यसको मतलब विषय बस्तुबाट प्रभावित भै नलेख्ने चैं हैन जुनसुकै ठाउँमा बसेर मुठ चलेको बेला मात्र हैन कुनै पनि बेला लेख्ने भनेपछि लेखेर नै छोड्छु । कसैले मलाई प्रेमको बारेमा, कसैले बिछोड्को बारेमा या देश प्रेम देश भक्ति र भजनहरू पनि लेख्ने गर्छु ।

६) पछिल्लो समयमा तपाईंको शब्दमा रहेको गीत ‘आँखा झिमिक्क पारेर’ भन्ने गीतको निकै चर्चा बटुल्न समय भयो नि, यो गीत लेख्ने हौसला कहाँबाट प्राप्त गर्नुभयो ?
* अहिलेसम्म मैले लेखेका कुनै रेकर्डिङ भै सकेका र कुनै रेकर्डिङ हुन बाँकी र कृतिको रूपमा नआइसकेको करिब तीन हजारभन्दा बढी गीतहरू छ्न् । लगभग सयभन्दा बढी गीत रेकर्डिङ भै सकेको छ भने कुनै गीत दर्शक स्रोताबाट धेरै नै मन पराइएको गीतहरू छ्न् । यस पटक भर्खरै सार्वजनिक भएको गीत चैं ‘आँखा झिमिक्क पारेर’ हो । यस गीतमा चर्चित गायिका अश्मिता अधिकारी र चर्चित संगीतकार एवं गायक सन्तोष श्रेष्ठको स्वरमा रहेको युगल गीत चर्चा पाउन सफल भएको छ । यो खुसीको कुरा हो, सँधै स्रोताबाट माया पाई रहूँ भन्ने लागेको छ ।

७) तपाईं अहिले कुनै कृतिको तयारीमा हुनुहुन्छ कि के गर्दै समय बिताउनु हुन्छ ?
* साहित्य क्षेत्रमा लागेपछि केही न केही लेखिरहूँ हुने रहेछ । जस्तो कि खाना नखाँदा के भएको के भएको यानी खाली पेट मन नमान्ने केही न केही खाएर भए पनि पेट अगाउन पाए हुन्थ्यो भन्ने हुन्छ । त्यस्तै अहिले चैं एउटा उपन्यास र तिन वटा एल्बमको तयारीमा लागेको छु । सकभर चाँडै बजारमा ल्याउने तरखरमा रहेको छु ।

८) अब अन्त्यमा भन्दिनुस् के अबको नेपाली जगतमा म एउटा लेखक म एउटा साहित्यकार भएर जीविकोपार्जन गर्न सक्छु भन्ने वातावरण सिर्जना भएको छ कि नाइँ ?
* नेपाली साहित्य जगतमा लागेर म साहित्य लेखेर नै जीवन चलाउँछु भन्ने सोचाइ हाम्रो देशमा अलि गाह्रो छ । कुनै पनि हालत साहित्य लेखनबाट जीवन धान्न सक्दै सकिन्न बरु कृति प्रकाशन गर्न अप्ठ्यारो महसुस गरेको छु । फेरि लेखन क्षेत्रमा लागेपछि साहित्यबाट मैले नगद पाउने सपनाहरू देख्न छोडेको छु । आफ्नो मनबाट प्रस्फुटन हुने सृजनालाईहरू पाठक सामु पुर्‍याउन सक्नु नै ठुलो उपलब्धि मान्न थालेको छु । अहिलेको समयमा भन्नू पर्दा जमाना अनुसार धेरै प्रतिस्पर्धा रहेको छ । हरेस खाएको छैन विगत ३८ वर्षदेखि केही पाउन भनेर हैन नेपाली साहित्य क्षेत्रमा आफ्नो सृजना स्वरुप कृति पस्केको छु । कसैलाई राम्रो लाग्ला कसैलाई नराम्रो, राम्रो नराम्रो बीचमा साहित्यकार बनेको छु । यसमा म खुशी नै छु ।