नारायणकाजी श्रेष्ठको पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिष्ट केन्द्र’?

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको विवाद उत्कर्षमा पुगेपछि नेता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विभाजन हुने भएको छ ।

उनले नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिष्ट केन्द्र’ तय गरिसकेकासमेत विश्वस्त स्रोतले जनाएको छ ।उनले निर्वाचन आयोगमा दर्ता गर्न लागेको नयाँ पार्टीमा वरीष्ठ उपाध्यक्षमा गिरिराजमणी पोखरेल र उपाध्यक्षमा लिलामणि पोखरेलको चर्चा रहेको छ ।

यस्तै महासचिवमा कृष्णबहादुर महरा र सचिवमा देव गुरुङ र लेखनाथ न्यौपानेको चर्चा रहेको विश्वस्त स्रोतले जनाएको छ ।नेता नारायणकाजी श्रेष्ठले आफूनिकट नेताहरुसँग नयाँ पार्टी गठनका लागि आवश्यक परामर्शसुमेत सुरु गरिसकेका छन् ।

एमसीसीका सन्दर्भमा माओवादीले अन्तिम समयमा लिएको निर्णय र सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डको अभिव्यक्तिले श्रेष्ठलाई थप असन्तुष्ट बनाएको हो ।प्रचण्डले घुमाउरो भाषामा पार्टी छोड्न आग्रह गरेको भन्दै श्रेष्ठले तत्कालीन एकता केन्द्र मसाल पक्षका नेता कार्यकर्तालाई फोन गरेर सोध्न थालेको एक नेताले बताए।

‘नारायणकाजी कमरेडलाई प्रचण्डले घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने अभिव्यक्ति दिएपछि उहाँले आफू निकट नेता तथा कार्यकर्तालाई फोन गरेर कता लाग्ने भन्दै सोध्न थाल्नु भएको छ’, ती नेताले भने,‘यदि मैले मेरो नेतृत्वमा पार्टी निर्माण गरेमा लाग्नुहुन्छ तरु भनेर सोध्नु थाल्नुभएको छ। पार्टी अध्यक्षले नै पार्टी छोड भनेपछि राजनीति गर्ने मान्छे त्यही पार्टीमा बसिरहने भन्ने हुँदैन। नयाँ पार्टी बनाएर जानुपर्छ।’

श्रेष्ठ निकट केन्द्रीय सदस्य २० भन्दा धेरै भएको दाबी गरिएको छ। श्रेष्ठ पार्टी विभाजनको अवस्थामा पुगेपछि मंगलबार अपराह्न प्रचण्ड उनलाई भेट्न उनको निवास हात्तिवन पुगेका थिए । पार्टी विभाजनबाट श्रेष्ठलाई रोक्न प्रचण्ड उनको निवास पुगेका हुन्।

एमसीसी पारित गर्ने निर्णय पार्टी महाधिवेशन विपरित भएको भन्दै श्रेष्ठले त्यस दिनलाई कालो दिनको रुपमा मनाउनुपर्ने उल्लेख गरेका थिए। एमसीसीलाई व्याख्यात्मक रुपमा पारित गर्ने निर्णयमा श्रेष्ठले सामाजिक सञ्जालमार्फत् नै असन्तुष्टि पोखेका हुन् । एमसीसीकै कारण श्रेष्ठ नयाँ पार्टी गठनको अवस्थामा पुगेका हुन् ।