पाँचदलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग

काठमाडौं १६ फागुन । अमेरिकी परियोजना एमसीसीको विरोधी राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । सोमबार पार्टीको केन्द्रीय सचिवालयको बैठकले यस्तो निणर्य गरेको हो ।

जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति पुग्ने भन्दै राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको जानकारी गराएको हो ।

पार्टीका अध्यक्ष चित्र बहादुर केसीले आज एक विज्ञप्ती जारी गर्दै आफ्नो पाँच दलीय गठवन्धनबाट अगल भएको बताएका हुन् ।

जारी विज्ञप्तीमा भनिएको छ , ‘हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद‍्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकोविरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ ।’

एमसीसीको विरोधमा फागुन १९ र २० गते देशव्यापी विरोध सभा गर्ने समेत जनाएको छ ।