एमसीसीमा प्रचण्डबारे लेखनाथको टिप्पणी : पार्टीलाई निजी क्लब बनाए, राष्ट्रघाती निर्णय गराए

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी पास गर्न सहमति जनाएपछि माओवादी केन्द्रमा आक्रोश चुलिएको छ।

यस्तोमा एमसीसीको चर्को आलोचना गर्दै अस्वीकार गर्नुपर्ने अडान राख्दै आएका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रचण्डमाथि आक्रोश पोखेका छन्।आइतवार बिहान बसेको माओवादीको बैठक अवैधानिक रहेको बताउँदै न्यौपानेले त्यसबाट हुने कुनै पनि निर्णयलाई आधिकारिक मान्न नसकिने पनि बताएका छन्।

यसअघि अस्वीकार गर्ने अडानमा रहेको माओवादी केन्द्र सत्ता गठबन्धन जोगाउने नाममा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णयमा पुगेपछि न्यौपानेसहितका नेताहरु आक्रोशित छन्।

पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक निर्णय आधिकारिक हुन नसक्ने बताउँदै उनले पार्टीलाई निजी क्लब बनाउन खोजिएको पनि आरोप लगाएका छन्।

न्यौपानेले पुसमा भएको आठौँ महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्ष मात्रै छानेको बताउँदै प्रचण्डको एकल निर्णयलाई स्वीकार्न नसकिने पनि बताएका छन्।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठक पटक-पटक स्थगित गरेर प्रचण्डले एक्लै निर्णय लिएर पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याएको आरोप पनि उनले लगाएका छन्।

‘नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पटक-पटक स्थगित गरिएको छ। महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्रै बनेको अवस्था छ। एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने, अर्कोतिर एमसीसीजस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर विषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने?’, उनले सोधेका छन्, ‘यसको मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने! पार्टी केन्द्रीय समितिको निर्णयबाहेक अरुको निर्णय अधिकारिक हुँदैन। आज बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन।’

एमसीसीको चर्को विरोधमा उत्रिने गरेका न्यौपानेले केही सातअघि माओवादीले एमसीसी पास गरे प्रचण्डलाई अमेरिकी पाल्तु कुकुर भनेर जुत्ताले हान्दै लखेट्ने  बताएका थिए। उनले माओवादी राष्ट्रघात गर्ने पार्टी नभएको बताउँदै तर प्रचण्डले निजी क्लब जस्तै बनाएर विवादित निर्णय गराएको उनले गुनासो गरे।