प्रचण्डको ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयप्रति नारायणकाजी श्रेष्ठको गम्भिर असहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन् ।

यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान बसेको बैठकमा ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।

माओवादी केन्द्रले यसअघि एमसीसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने अडान माओवादीले लिएको थियो ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको बिपक्षमा मतदान गरे गठबन्धन तोड्ने बताएपछि माओवादीको आजको बैठकले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो ।

‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं । यो महाधिवेशनको बिरुद्ध छ र गलत छ,’ श्रेष्ठले भनेका छन् ।