भविष्यमा आइपिएस जोडिए एमसीसी खारेज गरिनेछ : गगन थापा

आइतबार एमसीसी सम्झौताको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदसमेत रहेका नेता थापाले एमसीसीले धेरै कुरा प्रष्टाएको बताए। उनले भने, ‘‘हामीले व्याख्यात्मक घोषणा गरेका छौं। सम्झौताले अन्यौलमा रहेका विषय प्रष्टाएको छ। यसमाथि कुनै दुविधा छैन।’’

थापाले पछिल्लो १२ वर्षमा एमसीसी सम्झौतासँग सबै प्रधानमन्त्री र विभागीय मन्त्रीहरू जोडिएको दावी गरे। उनले एमसीसी कुनै पनि प्रकारको राष्ट्रघाती सम्झौता नभएको दावी गर्दै पाँच वर्षभित्र परियोजना सम्पन्न हुने बताए।

उनले भने, ‘‘कतिपय माननीयले अमेरिकी सेना आउँछ भनेरसमेत भ्रम छरेको पाइयो। परियोजना पाँच वर्षभित्र पूरा हुन्छ। पाँच वर्षभित्र सेना आएन भने तपाईहरू के भन्नुहुन्छ ? तपाईहरू जवाफ दिन सक्नुहुन्छ ?’’ उनले प्रश्न गरे।

नेता थापाले एमसीसीको पक्षमा आफू अछाम, काठमाडौं, सडक, सदन सबैतिर बहस गर्न तयार रहेको बताए। उनले भने, ‘‘म काठमाडौंको सांसद हुँ। म सबै प्रश्नको जवाफ दिन तयार छु। तलमाथि भए मलाई थानकोट कटाइयोस्।’’