नेपाल लेण्डुप दोर्जेको बाटो हिँड्नु हुँदैन : नेता पोखरेल

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद् गिरिराजमणि पोखरेलले अमेरिकी सहायता सम्झौता (एमसीसी) प्रतिनिधि सभाबाट आजै पारित नगर्न आग्रह गरेका छन्।

आइतबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी माथिको दफावार छलफलमा सहभागी हुँदै पोखरेलले एमसीसीमाथि अझै केही दिन छलफल गर्नुपर्ने बताए।

‘एमसीसी असंवैधानिक छ र राष्ट्रघात हो भन्ने जनस्तरमै छ। यहाँ व्याख्यात्मक घोषणा नभएको भए यो ठाउँमा आउने थिएन,’ उनले भने, ‘म पनि अघिल्लो मन्त्रिपरिषद्मा रहेको कुरा उठाउनुभयो। म उक्त वैठकमा उपस्थित भएको थिइनँ।’

सम्झौताका विषयमा तयार व्याख्यात्मक घोषणाका बारेमा अमेरिकासँग कुरा गर्न र यसलाई एक सम्झौताको अंग बनाउन पहल गर्ने पनि पोखरेलले आग्रह गरे।

महाकाली सन्धिमा पनि संकल्प प्रस्ताव तयार पारिएको उल्लेख गर्दै पोखरेलले व्याख्यात्मक घोषणाका नाममा एकतर्फी कुरा गरेर नहुने बताए। ‘‘महाकाली सन्धिका बेला पनि यस्तै कुरा गरियो। तर, लागू भएन। अहिले पनि त्यस्तै हुन्छ’’ उनले भने।

अमेरिकाले नेपालको उर्जामा हात हाल्न खोजेको आरोप लगाउँदै उनले लेण्डुप दोर्जेको पथमा नभई देशभक्तिको बाटोमा हिँड्न समेत आग्रह गरे।

माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकमा नेता पोखरेलले एमसीसी सम्झौता अनुमोदन गर्ने प्रस्तावमाथि बिमति राखेका थिए। उनीसहित नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरूङ र लिलामणि पोखरेलले असहमति राखेका थिए।

सांसदहरू समर्थन र विरोधमा उभिँदा अन्ततः एमसीसी सम्झौता अनुमोदन भएको छ। आइतबार साँझ प्रतिनिधि सभाको बैठकले एमसीसी सम्झौता अनुमोदन गरेको हो।