व्याख्यात्मक घोषणाले अस्पष्टता हटाउँछ : अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ सरकारले व्याख्यात्मक घोषणासहित सदनबाटै दिने बताएका छन्।

त्यसक्रममा उनले व्याख्यात्मक घोषणापछि एमसीसीबारे आएका प्रश्नहरु निरुपण हुने विश्वास व्यक्त गरे। प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले नेपालले आफ्नो तर्फबाट सम्झौताबारे उठेका प्रश्नहरू स्पष्ट गर्ने बताए।

‘सार्वभौम संसदले कानुन बनाउने र राष्ट्रको हितमा सरकारको प्रस्तुतिपछि आम नेपाली जनतालाई जवाफ हुनेछ। सरकार जिम्मेवार छ’ अर्थमन्त्री शर्माले एमसीसीमाथिको प्रस्तावमा उठेका प्रश्नको जवाफ दिने विश्वास सदनलाई दिलाउँदै भने, ‘असंलग्न परराष्ट्र नीतिका आधारमा सबै राष्ट्रहरूसँग समान व्यवहार गर्नेछ।’

उनले सोहीअनुसार व्यवहार गर्ने सरकारको नीतिमा कुनै फेरबदल नहुने कुरामा विश्वस्त हुन आग्रहसमेत गरे। मन्त्री शर्माले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि कुनै फेरबदल नआउनेसमेत दावी गरे।

त्यसक्रममा अर्थमन्त्री शर्माले प्रतिपक्ष पार्टीका सांसदलाई महत्वपूर्ण विषयमा छलफलमा सहभागी हुन आग्रहसमेत गरे। ‘एमसीसीसम्बन्धि उठेका प्रश्न, सडकमा उठेका आवाज र नेपाली जनताको चासो र चिन्तामा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्री शर्माको भनाइ छ। उनले अन्तर्राष्ट्रिय कानुनका सिद्धान्त तथा नेपालको प्रचलित कानुनको व्यवस्थाअनुसार सरकारले एमसीसीको व्याख्यात्मक घोषणा सदनमा पेश गर्ने बताए।

बानेश्वरको संसद भवनमा बसेको मन्त्रिपरिषद बैठकले एमसीसी सम्झौताबारे १२ बुँदे व्याख्यात्मक घोषणा तयार पारेको छ। उक्त घोषणा प्रतिनिधि सभामा प्रस्तुत गरेर सम्झौता अनुमोदन गर्ने कार्यसूचि छ।