एमसीसी पास गर्नु आत्मघाती हुन्छ, खारेज गरौं : दुर्गा पौडेल

काठमाडौं। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने उल्लेख भएकाले सदनबाट पारित गर्न नहुने बताएकी छन्। प्रतिनिधिसभामा आइतबारको बैठकमा पौडेलले उनले एमसीसी सम्झौताका केही बुँदा उल्लेख गर्दै राष्ट्रहित विपरीत रहेकाले खारेज गर्नुपर्ने बताइन्।

एमसीसी सम्झौता पारित गरेर आत्मघाती कार्य गर्न नहुने भन्दै उनले सम्झौता अनुमोदन गरेमा यसमा भएका सर्त परियोजनाको समय सकिए पनि लागू भइरहने दाबी गरिन्। एमसीसी सदनबाट पारित गर्नु आत्मघाती भएकाले त्यसलाई खारेज गर्न उनको आग्रह छ। ‘एमसीसी पारित गर्नु आत्मघाती हुनेछ। एमसीसी खारेज गर्न विनम्र अनुरोध गर्दछु,’ उनले भनिन्।

उनले एमसीसी सैन्य रणनीति अन्तर्गतको भएको टिप्पणी पनि गरिन्। उनले चीनलाई घेर्न यो योजना ल्याइएको समेत दाबी गरिन्। पौडेलले नेपालको संविधान र कानुनभन्दा माथि एमसीसी भएको उल्लेख गरिन्। विदेशी अनुदान स्वीकार गर्नुहुन्छ कि हुँदैन भन्ने नभएको भन्दै उनले थपिन्, ‘शर्तहरु राखिएको यस्तो योजना स्वीकार गर्न हुन्छ कि हुँदैन भन्ने हो।’