अप्रिय भएपनि एमसीसी पास गरौं : डा. भट्टराई

काठमाडौं। जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी नेपालको हितमा भएको बताएका छन्। प्रतिनिधिसभा आइतबारको बैठकमा पूर्वप्रधानमन्त्री भट्टराईले अलिकति अप्रिय भए पनि एमसिसी छनौट गर्नु राम्रो भएको बताए।

‘अनुदान अलिकति अप्रिय भए पनि देशको हितमा छ,’ उनले भने। उनले एमसीसी अनुदान सहयोग लिएर जान उपयुक्त हुने पनि बताए। भट्टराईले एमसीसी सम्झौता नेपाल र अमेरिकाबीचको सहयोग परियोजनाबाहेक केही नभएको बताए। एमसीसीलाई दलका नेताहरूले नै गिजोलेर बिगार्ने काम गरेको उनको भनाई छ।

भट्टराईले सम्झौतामा आपत्ति जनाउनुपर्ने विषय केही पनि नभएको दाबी गरे। ‘एमसीसी सामान्य अनुदान थियो, तर हामीले यसरी कोट्यायौं कि यो कुहिएर गन्हाउने अवस्थामा पुगेको छ। हामीले गिजोलेर यसलाई विषाक्त गरिएको छ। हामी बोल्न डराइरहेका छौं, आफ्नै क्षेत्रमा जान डराइरहेका छौं,’ उनले भने, ‘तर यो सहयोग परियोजनाबाहेक केही पनि होइन।’

सम्झौताको भाषा केही घोच्ने खालका रहेको भन्दै उनले तर, अन्तर्राष्ट्रिय भाषा प्रयोग भएको बताए। अहिले केही साथीहरूले व्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्न सहमत भएको सुनेको भन्दै उनले माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताप्रति व्यंग्य पनि गरे। ‘एमसीसी सामान्य सम्झौता थियो तर अहिले बाँदरले जसरी कोट्याएर घाउ बनायौं। क्यान्सरको अवस्थामा पुर्‍यायौं। जानेर वा नजानेर एकलाई राष्ट्रवादी र राष्ट्रघाती बनायौं,’ उनले भने, ‘एमसीसीलाई विषाक्त बनाएका मित्रहरुले पातलो लँगौटी लगाएर जनतामाझ जाने कुरामा सहमत भए भन्ने सुन्दैछु।’