‘देशलाई ठग्नेहरू’लाई ठेगान लाएरै छाड्छु : मन्त्री आले

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरूको विरुद्धमा एक साता भित्रमा कारबाहीको दायरा भित्र ल्याउन लागेको बताएका छन्। अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरूका विरुद्धमा कडा कदम चाल्न लागेको बताए।

उनले आजसम्म देशलाई ठग्नेहरूका विरुद्धमा आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साता भित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताए। ‘जति पनि मैले कामको थालनी गरेको छु। मातृभूमिलाई साक्षी राखेर म भन्न चाहन्छु, विभिन्न तत्वहरुले अहिलेसम्म देशलाई ठग्दै आएका थिएँ, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु,’ उनले भने, ‘यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो ट्रेलर अब तपाईहरु एक साताभित्र पूरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु ’

मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफू लागि परिरहेको बताए। उनले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दा तलमाथि पर्न गएको स्वीकार गरे। आफूलाई पटक-पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भए पनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनको दाबी छ।