धुरीमा पाँचवटा गिद्ध बसेपछि देशको हालत यस्तो भएको हो : केपी ओली

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयू बढिमा एक वर्षमात्रै रहेको दाबी गरेका छन्। शनिबार भक्तपुरको सुर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि अहिलेको सरकार हट्ने बताए।

उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरूलाई आगामी निर्वाचनमा पानीमा गए पनि आफ्नो पार्टीले नछाडने चेतावनी दिए। अध्यक्ष ओलीले वर्तमान पाँच दलीय सत्तारुढ गठबन्धनलाई अशुभ गिद्धको संज्ञा दिए। ओलीले गठबन्धनलाई अशुभ गिद्धको संज्ञा दिँदै देशको हालत बिग्रिएको आरोप लगाए ।

ओलीले भने, ‘धुरीमा एउटै गिद्ध बस्यो भने अशुभ मानिन्छ । एउटै गिद्ध बस्दा पनि अशुभ मानिन्छ। पाँच/पाँचवटा गिद्ध बस्यो भने के हुन्छ। देशको हालत त्यस्तै भएको छ। बजेट काट्ने, अस्पताल काट्ने थप्ने त यिनीहरु गर्दै गर्दैनन्। कुनै डाक्टरले राम्रो काम गर्यो लखेटिहाल्ने, कुनै प्रशासकले राम्रो काम गर्यो लखेटिहाल्ने, कुनै प्रहरीले ड्युटी राम्रो गर्यो भने लखेटिहाल्ने। यो उनीहरुको मति हो तर, चिन्ता मान्नुपर्दैन किनभने देशमा लोकतन्त्र, प्रजातन्त्र आएको छ। जालझेल गरे पनि त्यो गर्न सक्दैनन्।’