हामी अब राजा वा राजसंस्था केन्द्रित राजनीति गर्दैनौं : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राप्रपा नेपालले राजा र राजसंस्था केन्द्रित राजनीति नगर्ने बताएका छन्। उनले राजसंस्थालाई पार्टीले सम्मान गर्ने भए पनि लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित जनता केन्द्रित राजनीति गर्ने घोषणा गरेका छन्।

शनिबार राजधानी काठमाडौंमा राप्रपा नेपालको घोषणा कार्यक्रममा थापाले अब राजा वा राजसंस्थाले संविधानको परिधिमा रहेर काम गर्छ भन्ने विश्वास आफूलाई नभएको बताएका छन्। २०६२/०६३ को आन्दोलनले राजतन्त्रको अन्त्य गर्दै देशलाई लोकतान्त्रिक गणतन्त्र बनाइँदासमेत राजतन्त्र र राजाको वकालत गर्दै राजनीति जारी राखेका थापा पछिल्ला दिनहरूमा यूर्टन भएका हुन्।

उनी राप्रपाको अध्यक्षमा पराजित भएपछि सो हार पूर्वराजा ज्ञानेन्द्रमाथि आरोप लगाएका थिए। उनले शनिबार राजतन्त्रप्रतिको मोह भंग भएको स्पष्ट पारेका छन्। थापाले धर्मका नाममा राजनीतिसमेत नगर्ने बताएका छन्। तर, सनातन धर्मको जर्गेना गर्ने आफ्नो पार्टीको नीति हुने बताएका छन्।

सम्बोधनका क्रममा थापाले पार्टी ठूलो बनाउने नाममा आफूले ५ वर्ष खेर फालेको भन्दै जनतासँग माफी मागेका छन्। उनले ओली सरकारमा सहभागी भएकोमा पनि माफी मागेका छन्। उनले आफूले राजनीतिक जीवनमा ठूलो भुल गरेको भन्दै जनताले आफूलाई माफ गर्नेमा विश्वस्त रहेको बताएका छन्।