गगनलाई ठूलो अवसर दिँदै देउवा, पार्टी र गठबन्धनको बैठकमा गगन थापालाई नै यसरी अगाडी सार्दैछन्

काठमाडौं, ६ फागुन – शीर्ष तहको छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पनि प्रवेश भएसँगै राजनीतिमा युवा सहभागिताको कार्यान्वयन व्यवहारमा देखिएको छ । पाँचदलीय सत्ता गठबन्धनको बिहीबारको बैठकमा थापा सहभागी भएका थिए ।

थापा सहभागी मात्रै भएनन्, अहिले अत्यन्तै जटिल बनिरहेको विषय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा निर्णायक बन्न माओवादी केन्द्रलाई सुझावसमेत दिए । बिहीबार राति अवेरसम्म बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेता थापाले माओवादीलाई एमसीसीबारे ठोस निर्णय लिन भनेका थिए । यद्यपि उक्त बैठक निष्कर्षविहीन बन्यो । गबठन्धन टुटे पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेका थापाले अभिव्यक्ति दिँदै आएका छन् ।

केही समयअघिसम्म एमसीसी संशोधन गरेर पारित गर्नुपर्छ भन्दै आएका थापाले अहिले यथास्थितिमा पारित गर्नुपर्ने बताउन थालेका छन् । नेता थापालाई नजिकबाट चिन्ने नेता गुरुराज घिमिरेले थापा कांग्रेस महामन्त्रीसँगै प्रतिनिधिसभा सदस्य पनि भएकाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष तहको छलफलमा सहभागी गराएको बताए ।

‘कांग्रेस प्रतिपक्षीमा रहँदा पनि थापाले संसदमा महत्वपूर्ण भूमिका खेल्दै आएको र एमसीसी सदनबाट अनुमोदन गर्नुपर्ने विषय भएकाले थापा सत्ता गठबन्धनको बैठकमा सहभागी हुनुभएको हो,’ नेता घिमिरेले न्युज कारखानासँग भने ।

नेता थापा महामन्त्री निर्वाचित भएलगत्तै सर्वदलीय बैठकमा पनि सहभागी भएका थिए । उच्चस्तरीय छलफलमा सहभागी भएको हिसाबले पार्टी सभापति देउवाले महामन्त्री थापालाई विश्वासपात्रको रूपमा लिएको बुझ्न सकिन्छ । सभापति बनेलगत्तै देउवाले नयाँ पुस्तासँग कसरी सहकार्य गर्लान् भन्ने धेरैको चासो थियो ।

१४औं महाधिवेशनमा नेता डा.शेखर कोइराला नेतृत्वको समूहबाट चुनावमा होमिएका थापा भारी मतले महामन्त्री बनेका हुन् । सान्दर्भिक विषयवस्तुलाई आकर्षक ढंगले उठान र प्रस्तुत गर्ने कलाले पनि थापा राजनीतिक वृत्तमा चर्चित छन् ।

०६२÷६३ को जनआन्दोलनमा गणतन्त्रको मुद्दा अघि सारेपछि थापा चर्चित बनेका थिए । ०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक सांसद बनेका थिए । २०७० सालको दोस्रो संविधानसभामा काठमाडौं–४ बाट निर्वाचित भएका थिए ।