धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

काठमाडौं। सरकारले धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। समितिले बोर्ड अध्यक्ष नियुक्तिका लागि फागुन २ गते गोपालप्रसाद भट्ट, रमेशकुमार हमाल र कृष्णराज पोखरेलको नाम सिफारिस गरेको थियो।

तर, त्यसअघि सिफारिस समितिले माघ २४ गते पाँच जनाको नाम सिफारिस गरेपछि २ फागुनमा दुई जनाको नाम काटेर सरकारलाई सिफारिस गरेको थियो। सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो। ढुंगानालाई पदबाट हटाएपछि नयाँ अध्यक्ष नियुक्ति गर्न बनेको छनोट समितिमै लामो समय विवादित बन्यो।