स्थानीय चुनावसम्बन्धी निर्वाचन आयोगका १० निर्णय

काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मिति विभिन्न १० वटा निर्णय गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी विभिन्न १० वटा निर्णय सार्वजनिक गरेको हो।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानुन बमोजिम राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन वटा राजनीतिक दल दर्ता गरेको छ।

यो सँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरूको सङ्ख्या १०६ पुगेको आयोगले जनाएको छ। त्यस्तै आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ।

उक्त निर्देशिकामा सम्बन्धित पालिकास्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरी निर्वाचनलाई मितव्ययी बनाउन प्रयास गरिएको आयोगले जनाएको छ। त्यस्तै मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेशन र लागत अनुमान स्वीकृत गरी इ-विडिङको माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाएको पनि आयोगले जनाएको छ।