हामी बोली फेर्दैनौं, एमसीसी पास हुन्छ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगन थापाले एमसीसी पास गर्ने कुरामा आफूहरु अडिग रहेको बताएका छन्। विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा थापाले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी कांग्रेस नभएको बताए।

उनले भने, ‘एमसीसीबारे कसले के बोल्यो, त्यसमा हाम्रो ध्यान छैन। कांग्रेस आफ्नो दायित्वबाट च्युत हुन मिल्दैन, हुँदैन। कांग्रेसले क्षणिक लाभको लागि बोली फेर्न जान्दैन।’ एमसीसी पास गर्ने वर्षौंअघिको निर्णयमा कांग्रेस अडिग रहेको उनको भनाई छ। थापाले एमसीसीबारे कम्युनिस्ट दलहरूले बोली फेरेको बताए।

नेकपा एमाले र माओवादी केन्द्रप्रति व्यंग्य गर्दै उनले अघि भने, ‘हामी बालुवाटारमा हुँदा एउटा बोली, अनि बालकोट र खुमलटार पुगेपछि अर्को बोली बोल्दैनौं, बोल्न जान्दैनौं।’ नेता थापाले सरकार चलाउँदा राजनीतिक दलले गर्ने काम, प्राथमिकताहरू, नीति कार्यक्रम र योजनाहरूबाट त्यो दल कस्तो हो भन्ने थाहा हुने भन्दै त्यसको मूल्यांकन गरेर धारणा बनाउन आग्रह गरे।