भरतपुर १२ का भूमिहीन पाए जग्गाको निस्सा

चितवन : राष्ट्रिय भूमि आयोग चितवनले जिल्लाका स्थानीय तहहरूमा जग्गाको निस्सा बाँड्ने अभियान तीव्र पारेको छ। भूमिहीनहरूलाई लालपुर्जा वितरण प्रक्रियाका लागि निस्सासँगै जग्गा नापजाँच कार्य तीव्र पारेको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष राष्ट्रिय बद्री तिमिल्सिनाले जानकारी दिए।

यतिवेला जिल्लाको भरतपुर महानगरसहित कालिका नगरपालिका र माडी नगरपालिकामा समेत आयोगले निस्सा वितरण र नापजाँच तीव्र पारेको तिमिल्सिनाले बताए। सोही अभियान अन्तर्गत आज भरतपुर महानगरको वडा नम्बर १२ मा भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष राष्ट्रिय बद्री तिमिल्सिना र वडा अध्यक्ष नरेन्द्र कन्दवाले संयुक्त रूपमा नापजाँच प्रक्रियाका लागि निस्सा वितरण गरेका हुन्।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अब जग्गा नापजाँचको कार्यलाई पनि तीव्र ढंगले अगाडी बढाई जति सक्दो छिटो भूमिहीनलाई भूमिपति बनाइने बताइन्। ‘सुकुम्वासीलाई जग्गा दिन अमिनसहितको टोली फिल्डमा तीव्र रूपमा काम गरिरहेका छन्,’ उनले भनिन्, ‘अहिले ७ वटा वडामा काम भइरहेको यहाँ पनि ५ दिनपछि नापजाँच हुन्छ।’

यस्तै उपमेयर पार्वती शाहले आफूहरूले गरेको बाचा अनुसार नस्सा वितरणसँगै लालपुर्जा वितरण गर्न पाउँदा निकै खुसी लागेको बताइन्। जग्गाको निस्सा पाएपछि स्थानीयवासी उत्साहित भएका थिए। सो अवसरमा बोल्दै राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष तिमिल्सिनाले अब बोलेर मात्र नभई चितवनभरका सुकुम्वासीहरूलाई लालपुर्जा वितरण गरेर देखाउने बताए। तिमिल्सिनाले आफूलाई जिल्लाको सबै भूगोल र अवस्थाको बारेमा जानकारी भएकाले वास्तविक भूमिहीनलाई जग्गा दिलाएरै छाड्ने दाबी गरे।