महोत्तरीमा एउटै कुकुरको टोकाइबाट २० जना घाइते ,सबैको उपचार हुँदै

जलेश्वर, ४ फागुन -महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन् । बजराहीको आधारभूत विद्यालयको छेउ भएर ब्रह्मबाबा स्थानसम्म जाने बाटोमा रहेको कुखुरा फाराम नजिकै बसिरहने एक कुकुरले टोकेर स्थानीयवासी २० जनालाई घाइते बनाएको हो ।

विगत तीन÷चार दिनको अवधिमा सो कुकुरले स्थानीय चन्दु ठाकुर, रामआश्रे मण्डल, रमेश ठाकुरसहित आठ महिला र १२ पुरुष गरी २० जनालाई टोकेर घाइते बनाएको स्थानीयवासी चन्देश्वर साहले बताउनुभयो । घाइतेहरूले जिल्ला अस्पताल जलेश्वरमा उपचार गराएका छन् । स्थानीयवासीले सो कुकुरलाई नियन्त्रण गर्न जलेश्वर नगरपालिकासँग माग गरेका छन् । (रासस)