एमसीसीविरुद्धको प्रदर्शनमा भएको प्रहरी दमनको निन्दा

काठमाडौं। अनेरास्ववियू (क्रान्तिकारी) र योङ् कम्युनिष्ट लिग नेपाल (वाईसीएल)ले एमसीसी सम्झौताको विरोध गर्नेहरूमाथि भएको प्रहरी दमनको निन्दा गरेका छन्। अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र वाईसीएलका संयोजक सुमन देवकोटाले आज संयुक्तरूपमा एक वक्तव्य जारी गरेर एमसीसी सम्झौताको विरोधमा भएको आन्दोलनमाथि प्रहरी दमनको भर्त्सना गरेका हुन्।

उनीहरूले राष्ट्रहित विपरीत रहेको एमसीसी सम्झौता विनासंशोधन अगाडी बढाइए थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) र वाईसीएलले आज काठमाडौंमा एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गरेको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको थियो। सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्।

विज्ञप्तिमा प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। आन्दोलनको क्रममा गिरफ्तार गरिएकाहरूलाई तत्काल रिहा गर्न पनि माग गरिएको छ। विज्ञप्तिमा आफ्नो संगठन मात्र नभई समग्र स्वाभिमानी नेपालीहरू एमसीसीको विपक्षमा रहेको दाबी गरिएको छ।