दुर्गेश थापाको अर्को गीतले फेरी मच्चियो तहल्का (भिडियो हेर्नुस्)

काठमाडौ । दुर्गेश थापालाई अब धेरैले फण्डाका कारणले पनि चिन्छन् । उनले सांगीतिक क्षेत्रमा त्यस्तै चर्चा पाएका छन् । उनले गीत सार्वजनिक गरेपछि केही न केही फण्डा हुन्छ । उनका गीतको शब्द त कहिले भिडियोले विवाद निम्त्याउँछ । यो पालि पनि दुर्गेशले त्यस्तै गीत सार्वजनिक गरेका छन् ।

गत शुक्रबार सार्वजनिक गरेको गीत पैसा मा पनि उनले त्यस्तै शब्द प्रयोग गरेका छन् । यस अघि सार्वजनिक गरेको गीतमा भएको शब्दले निकै विवाद निम्त्याएको थियो । उनलाई कलाकारहरुको संगठनले बन्देज पनि लगाएको थियो । शब्द, संगीत, स्वर र अभिनयसमेत उनकै रहेको गीत पैसामा पनि उनले केही आपत्तिजनक शब्द समावेश गरेका छन्।

पैसाले देश ध्व स्त बनायो, सिध्याउँछ र ‘यस्तो जाबो कागज’ ‘मूला’ जस्ता शब्द छन्। केही त सुन्नै नसकिने शब्दहरु समेत समावेश गरेका छन् उनले। पैसा बोलको गीतमा उनले दुई अर्थ दिने शब्द प्रयोग गरेका छन् । सामान्य मानिसले बोल्ने भन्दा अलि अ श्लि ल लाग्ने शब्द उनको गीतमा छन् ।

केही संगीतकर्मीहरु त यो गीतले सांगीतिक क्षेत्रलाई नै असर पर्नसक्ने बताउँछन्। ‘आफ्नो बानी कहीँ नजानी’ भनेजस्तै थापाले हरेक गीतमा आपत्तिजनक शब्द अनिवार्यजस्तो बनाइसकेका छन्। आपत्तिजनक शब्दबिना गीत नै हुँदैनजस्तो छवि बनाएका छन्। यसअघि आएका गीतका कारण पनि उनी निकै आलोचित भएका थिए।

‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको तीज गीतबाट हिट भएका दुर्गेशले सांगीतिक क्षेत्रमा राम्रो प्रभाव बनाएका थिए । तर त्सपछि सार्वजनिक गरेका गीतले भने विवाद निम्त्याएको छ । चलचित्र ‘छ माया छपक्कै’ प्रमोसनका लागि ‘बीच्च बीच्चमा’ थेगो प्रयोग गरिएको गीतमा पनि आलोचित बन्नुपरेको थियो उनले। तिहारको गीत ‘डन आयो डन’मा पनि केही आपत्तिजनक शब्दका कारण उनी प्रहरी कार्यालय समेत धाउनु परेको थियो।

गएको वर्ष ‘बीच्च बीच्चमा २’ र ‘बीच्च बीच्चमा ३’ गीत सार्वजनिक गरेपछि दुर्गेश भिडियोका कारण पनि आलोचित भएका थिए। भिडियोमा पुरुष कलाकारले साडी लगाएर ‘मोडर्न’ तीजको भाव दिने कोसिस गरेका थिए। त्यसैगरी उनको ‘बीच्च बीच्चमा ४– का कारण पनि उनी आलोचित भए। गीतमा प्रयोग भएको ‘ख्यास्स पुतली’ शब्दले तीज पर्व र महिलामाथि नै अपमान गरेको आरोप लागेको थियो।