इमर्जिङ्ग नेपालको आइपिओमा आज देखि आवेदन दिन सकिने: हेर्नुहोस् कम्पनीको वित्तिय अवस्था

इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख ५५ हजार ६ सय कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेको छ। निष्काशन आज मिति २०७८ माघ २६ गते देखि फागुन १ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७८ फागुन ११ गते सम्म खुल्ला रहने छ।

कम्पनीको जारी पूंजी रु.५५.५६ करोडको १०% ले हुन आउने रु.५.५५ करोड बराबरको प्रति शेयर रु.१०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता साधारण शेयर मध्ये २७ हजार ७ सय ८० कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको तथा ११ हजार १ सय १२ कित्ता अर्थात २% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ५ लाख १६ हजार ७ सय ८ कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको हो

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एन आई सी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

क्रेडिट रेटिङ्ग

इमर्जिङ्ग नेपाल लिमिटेडलाई ईक्रा नेपाल लिमिटेडले [ICRANP-IR] BB+ (Pronounced ICRA NP Issuer Rating Duble B Plus) ग्रेडिङ्ग प्रदान गरेको छ जसले “Moderate risk of default with regard to the timely servicing of financial obligations” भन्ने आधार जनाउँदछ। ईक्रा नेपाल लिमिटेडले “(ICRANP-IR) AAA” देखि “(ICRANP-IR) D” सम्मको ग्रेडिङ्ग प्रदान गर्दछ। जसमा ग्रेड “ICRANP AAA” ले सकारात्मक आधार जनाउँछ भने “ICRANP D” ले नकारात्मक आधारहरु जनाउँछ। [ICRANP-IR] B, [ICRANP-IR] C र [ICRANP-IR] D ले औसत भन्दा कम आधार जनाउँछ भने दिइने आधारहरुमा प्रयोग गरिने (Plus) चिन्हले दिइएको समुहको तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ।

कम्पनीको परिचय

देश आर्थिक विकाशको मुख्य आधार पूर्वाधारको निर्माण तथा विकास (इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट) भएको हुँदा पुर्वाधारको रुपमा रहेको फाष्ट ट्रयाक, सुरङ्ग मार्ग, एयरपोर्ट, सडक, प्रविधि, जलविद्युत निर्माण, वितरण, पूर्वाधार सम्बन्धि वित्तीय संस्था, खानी, लगायतका, व्यवसायका क्षेत्रहरुमा स्वदेशी तथा विदेशी संस्थाहरुसंग मिली अध्ययन अनुसन्धान गर्ने, प्रतिवेदन तयार गर्ने, लगानी गर्ने, स्थापना गर्ने, संचालन गर्ने, सो सम्बन्धी परामर्शदाताको रुपमा कार्य गर्ने उद्देश्य लिएर प्रचलित कानून बमोजिम २०७२ सालमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको इमर्जिङ्ग नेपाल लिमिटेडले मिति २०७२ चैत्र २६ गते देखि कम्पनी ऐन, २०६३ अन्तर्गत काम/कारोबार गर्दै आइरहेको छ।

संचालक समीति

नेपाल सरकार, अर्थ मन्त्रालय, प्रसिद्ध व्यवसायी संघ, बैंक तथा वित्तीय व्यवसायी, कर्मचारी र व्यवसायिक व्यक्तिहरु एक साथ भई ४४ जना संस्थापक शेयरधनीहरुले प्रवर्दन गरेको यस कम्पनीको संचालक समीतिको अध्यक्षता श्री लालमणी जोशीले गरेका छन भने अन्य ५ जना संचालकहरु पनि संचालक समितिमा रहेका छन।

स्नातकोत्तर सम्म अध्ययन गरेका जोशी सँग नेपाल सरकारको विभिन्न मन्त्रालय तथा विभागहरुमा ३० वर्ष भन्दा बढी सचिव रही काम गरेको तथा स्वदेशी लघुवित्त वित्त संस्था लिमिटेडको अध्यक्ष रही काम गरेको अनुभव रहेको छ भने हाल नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडमा संचालक रहेका छन्। यस्तै, कम्पनीको व्यवस्थापनको जिम्मा प्रमुख कार्यकारी अधिकृत श्री शिखर भट्टराईले २०७८ कार्तिक १ गते देखि सम्हाल्दै आएका छन। एम. आइ. वि. सम्म अध्ययन गरेका भट्टराई सँग विभिन्न संघ संस्थाहरुमा १४ वर्ष नेतृत्वदाइ भूमिकामा रही काम गरेको अनुभव रहेको छ।

वित्तीय विश्लेषण

राष्ट्रिय प्राथमिकताको क्षेत्र अन्तर्गत पूर्वाधारको रुपमा रहेको, यातायात, संचार, उर्जा, उद्योग, पर्यटन, स्वास्थ्य, कृषि, वित्तीय र अन्य आर्थिक रुपमा महत्वपूर्ण योजनाहरुमा लगानी गर्ने लक्ष्य लिएको कम्पनीको शेयर पूंजी रु.५० करोड रहेको छ। हाल कम्पनीले जारी पूंजी रु.५५.५६ करोडको १०% ले हुन आउने रु.५.५५ करोड बराबरको शेयर प्राथमिक निष्काशन गर्ने प्र्कृयामा रहेको छ। प्राथमिक निष्काशन पश्च्यात कम्पनीको शेयर पूंजी रु.५५.५६ करोड हुनेछ जसमा ९०% संस्थापक शेयरधनीहरुको हुनेछ भने बाँकी १०% सर्वसाधारण शेयरधनीहरुको हुनेछ।

हाल कम्पनीमा मुख्य लगानी वरिष्ठ उद्यमी चन्द्र प्रसाद ढकालको रहेको छ जुन कुल संस्थापक शेयर मध्य १५% रहेको छ। यस्तै, शुभाष चन्द्र संघाईको नाममा १२.५०% शेयर लगानी रहेको छ भने प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा. लि. (१२.४४%), विशाल ग्रुप लिमिटेड (७.२५%), युनाइटेड ड्रिष्ट्रिबुइटर नेपाल प्रा. लि. (५.२५%) तथा अन्य व्यक्तिहरुको शेयर लगानी रहेको छ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ को वित्तिय विवरण अनुसार कम्पनीको जगेडा तथा कोष रु.२.५५ करोड रहेको छ। गत ३ वर्षमा जगेडा तथा कोषको सरदर वार्षिक वृद्धि (CAGR) दर १९.२९% रहेको छ। जगेडाकोष बढेसँगै कम्पनीको कुल शेयरधनीकोष पनि बढेर रु.५२.५६ करोड पुगेको छ। आ. व. २०७४/७५ मा रु.४५ करोड चुक्ता पूंजी रहेको कम्पनीको जगेडाकोषमा रु.१.५० करोड रहेको थियो।

आ. व. २०७७/७८ सम्ममा रु.४१.७३ करोड कुल लगानी गरेको कम्पनीले अधिकांश लगानी अन्य कम्पनीहरुको संस्थापक शेयरमा गरेको छ जस मध्य रु.२५ करोड नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा तथा रु.५.६ करोड Hotel Alice The Wonder Inn Limited मा गरेको छ। यस्तै, कम्पनीले Banking, Finance and Insurance Institute of Nepal, CARE Ratings Nepal Limited को संस्थापक शेयरमा पनि लगानी गरेको छ। संस्थापक शेयरमा बाहेक कम्पनीले बैंक वित्तिय संस्थाहरुको मुद्दति निक्षेपमा पनि लगानी गरेको छ।

कुल आयमा व्याज आम्दानीको अधिकांश हिस्सा रहेको कम्पनीले गत आ. व. मा रु.१.६२ करोड कुल आय आर्जन गरेको छ। संचालन आम्दानी बढेपनि व्याज आम्दानी घटेकोले समिक्षा अवधिमा कम्पनीको कुल आय घट्दै गएको छ। यस्तै, आ व २०७४/७५ मा उच्च रु.१.४८ करोड खुद नाफा आर्जन गरेको कम्पनीले गत आ. व. मा भने रु.१.१६ करोड खुद नाफा आर्जन गरेको छ जसको सरदर वार्षिक गिरावट ७.८९% हुन आएको छ। कुल आयमा आएको गिरावटको प्रभाव खुद नाफामा देखिएको हो।

प्राथमिक निष्काशन (IPO) पश्च्यात कम्पनीको शेयर पूंजी बढेर रु.५५.५६ करोड पुग्नेछ भने जगेडा तथा कोष पनि आ. व. २०७८/७९ मा प्रगति भएर रु.३.५३ करोड रहने कम्पनीको प्रक्षेपण रहेको छ भने कुल शेयरधनीकोष पनि बढेर रु.५९.०९ करोड कायम रहने छ। आ. व. २०८०/८१ सम्मको प्रक्षेपित विवरण अनुसार कम्पनीले चुक्ता पूंजी यथावट राख्ने देखिएको छ भने शेयरधनीकोष बढेर रु.४.१८ करोड पुग्नेछ। यस्तै, हाल रु.४९.१४ करोड रहेको कुल लगानी विस्तार गरी २०८०/८१ मा रु.५४।५० करोड पुर्याउने लक्ष्य रहेको छ। यसैगरी चालु आ. व. २०७८/७९ मा कम्पनीले रु.५.२४ करोड कुल आय आर्जन गर्ने प्रक्षेपण गरेको छ भने २०७९/८० र २०८०/८१ मा क्रमश रु.५.३८ करोड र रु.६.२६ करोड आर्जन गर्नेछ जसको परिणाम स्वरुप खुद नाफा चालु आ. व. को रु.३.७५ करोड बाट बढेर आ. व. २०८०/८१ मा रु.४.५३ करोड पुग्नेछ।

वित्तिय अनुपातहरु 

आर्थिक वर्ष २०७७/७८ को विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी रु.२.३२ रहेको छ भने प्रति शेयर किताबी मुल्य रु.१०५.११ कायम हुन आएको छ। यस्तै, लक्ष्य अनुसार लगानीमा प्रतिफल प्राप्त गरेमा कम्पनीको प्रति शेयर आम्दानी तथा प्रति शेयर किताबी मुल्यमा प्रगति हुने देखिएको छ। कम्पनीले आगामी तीन वर्षमा प्रति शेयर आम्दानी रु.८.१६ कायम राखि प्रति शेयर किताबी मुल्य रु.१०७.५३ मा कायम राख्ने लक्ष्य रहेको छ।

राष्ट्रिय प्राथमिकताको क्षेत्र अन्तर्गत पूर्वाधारको रुपमा रहेको, यातायात, संचार, उर्जा, उद्योग, पर्यटन, स्वास्थ्य, कृषि, वित्तीय र अन्य आर्थिक रुपमा महत्वपूर्ण योजनाहरुमा लगानी गर्ने लक्ष्य लिएको कम्पनी नेपाल सरकार, अर्थ मन्त्रालय, प्रसिद्ध व्यवसायी संघ, बैंक तथा वित्तीय व्यवसायी, कर्मचारी र व्यवसायिक व्यक्तिहरुबाट प्रवर्दित संस्था हो।

हाल रु.५.५५ करोड बराबरको प्राथमिक निष्काशन गर्ने प्र्कृयामा रहेको कम्पनीले उक्त रकमको ५४% उर्जा क्षेत्रमा लगानी गर्नेछ भने ३६% रकम आर्थिक पुर्वाधारको क्षेत्रमा र १०% कम्पनीको लक्ष्य अनुसारको विविध क्षेत्रमा लागानी गर्नेछ। हाल सम्म कम्पनीले बैंक वित्तिय संस्थाहरुको मुद्दति निक्षेप र केही कम्पनीहरुको शेयरमा लगानी गरेको छ भने समिक्षा अवधिमा व्यवसाय तर्फको सरदर वार्षिक वृद्धि दर तुलनात्मक रुपमा न्युन रहेको छ। तथापि, आगामी वर्षहरुमा विभिन्न श्रोतहरुबाट पूंजी संकलन गरी लगानी विस्तारमा वृद्धि गरेमा कम्पनीले शेयरधनीहरुलाई आकर्शक लाभांश वितरण गर्न सक्ने सम्भावना रहने छ।