स्थानीय निर्वाचनको बजेटबारे गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच छलफल

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच स्थानीय तह निर्वाचन लक्षित बजेटबारे बुधबार छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा. भिष्मकुमार भुसालले जानकारी दिए ।

 

 

 

 

सहसचिव डा. भुसालका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालूतर्फको समेत बजेट यकीन गरेर अर्थ मन्त्रालयमा पठाउने छ । छलफलमा गृहमन्त्री खाँणले निर्वाचनको कामलाई घनिभूतरूपमा अगाडि बढाउन आग्रह गर्दै अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभई नहुने विषयबस्तुबारे अवगत गराइने बताएका थिए ।

 

 

 

अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थमन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक गर्नै पर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए । गृहमन्त्री खाँणको पहलमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख डा. भुसालसहित सम्बन्धित महाशाखाका कर्मचारीहरू सहभागी थिए ।