२४४ वर्षअघि निर्माण भएको गणेश मन्दिरमा विशेष पूजाआराधना गरियो

काठमाडौँ-ऐतिहासिक तिलङ्गा घरको गणेश चोकमा अवस्थित गणेश मन्दिरमा विशेष पूजाआराधना गरिएको छ । तत्कालीन सेनापति काजी अभिमानसिंह बस्न्यातले २४४ वर्षअघि सो मन्दिर निर्माण गर्नुभएको जनाइएको छ ।                                विसं १८३१ मा सेनापति बस्न्यातले पल्टन घरका रुपमा तिलङ्गा घरको निर्माण गर्नुभएको वरिष्ठ पत्रकार श्रीरामसिंह बस्न्यात बताउनुहुन्छ । सात चोकमा निर्माण भएको तिलङ्गा घरको प्रत्येक चोकमा फरक फरकदेवी देवताको मूर्ति स्थापना गरिएको छ । त्यसमध्येको गणेश चोकमा रहेको गणेश मूर्तिमा माघ महिनाको अन्तिम मङ्गलबार पारेर पूजा आराधना गर्ने गरिएको हो । विसं १८२५ मा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभएपछि उहाँका भारदार नजिकै बस्ने क्रममा अभिमानसिंह बस्न्यातलाई असनको यो जग्गा दिइएको हो ।

नेपाली सेनाको ब्यारेकका रुपमा बसेको पहिलो घरका रुपमा समेत तिलङ्गा घरको ऐतिहासिक महत्व रहेको छ । अभिमानसिंह बस्न्यातले बनाउनुभएको त्यो ऐतिहासिक भवनको बैठक कोठा काष्ठ कलाले युक्त छ । १०० वर्ष नाघेका यस्ता स्थलको संरक्षणमा पुरातत्व विभागले काम गर्नुपर्ने भए पनि वास्ता नगरेको समाजका सदस्यको गुनासो छ ।
विभागले मात्र नभइ यो ऐतिहासिक स्थललाई स्थानीय सरकार काठमाडौँ महानगरपालिकाले समेत ध्यान पु¥याउन सकेको छैन । यहाँ बनेको गणेश मन्दिर आधुनिक कालमा बनेकामध्येमा पुरानो मन्दिर भए पनि विभाग, महानगरपालिकालगायत सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।