‘सेतो धर्ती’को रंगिन तागत

विगत केही वर्षमा मैले आख्यान, गैर आख्यान गरी सयौँ पुस्तकहरू पढेँ। सबै किताबहरूले केही न केही शिक्षा प्रदान गर्नुको साथसाथै केही हदसम्म विवेकका बिउहरू पनि छरे।

गैर आख्यानले तथ्यबोध गराउने, त्यस सँगसँगै उत्प्रेरणाको झिल्को बाल्नमा मलाई प्रेरित गरिरहेको छ भने, आख्यानले समाजलाई प्रतिबिम्बित गर्छ भन्ने मेरो अवधारणा हो। मलाई व्यक्तिगत रुपमा भावनात्मक र सिर्जनात्मक आड भरोसा र शीतल छहारी पनि प्रदान गर्छ। आख्यानले समाजको असली चित्रण गर्छ अनि समाजको जर्जर र क्रुर यथार्थलाई जस्ताको त्यस्तै र अझ सूक्ष्म ढंगले दृष्टिगोचर गरेर पाठकमाझ पस्कन्छ।

आज म यस समीक्षात्मक लेखमा यस्तो पुस्तकको कुरा गर्न जाँदैछु जसले झन्डै एक सय वर्ष अगाडिको समाज र त्यस बेलाको सामाजिक कुप्रथाले कसरी महिला वर्गलाई बल मिच्याइ गर्थ्यो, थिचोमिचो गर्थ्यो र मानसिक अपांगताको स्थितिमा धकेलेर सारा हृदय नै मक्किने अवस्थामा पुर्याइदिन्थ्यो।

अझै पनि देशको कुनै कुनै भागमा व्याप्त छ यस्ता खालका बेतिथीहरू जुन निवारणको नजिक भएको भान पर्ने कुराको परिकल्पना गर्न पनि व्यर्थ हुन्छ।

अमर न्यौपानेको कालजयी कृति सेतो धर्ती (विसं २०६६ मा प्रकाशित र विसं २०६८ को मदन पुरस्कार प्राप्त)) समाजको असली प्रतिबिम्ब हो। नेपालको निकै चेतनासम्पन्न ठाँउहरूमा विधवा बुहारीहरूलाई र छोरीहरूलाई राम्रा व्यवहारको गहनाले श्रंगार गरे पनि अझै केही ठाउँहरू १०० वर्ष अगाडिकै जस्ता छन्।

त्यस्ता समाजहरूमा अहिले पनि सेतो रंगलाई कुरीतिले पोतेर रंगहीन र तुच्छ सावित गर्दिन्छन्। सेतो वस्त्र धारण गर्नु पर्ने विधवाहरूलाई नयाँ र फरक जीवन सुरु गर्ने उर्जा भरिदिनको सट्टा, उनीहरूको भाग्य पुछिएको संज्ञा दिन्छन्- सिंदुर सँगसँगै।

उपन्यासको अन्तिम संवादमा रहेको ‘भगवान् छन् नि!’ भने वाक्यले मन हल्लाइदियो, भुइँचालो आयो र कम्पन धेरै बेरसम्म रहिरह्यो। कसरी सारा जीवन दु:ख कष्टले शरीरको सेतो बस्त्रले बेरे जस्तो बेर्दा पनि भगवानको अस्तित्वप्रति प्रश्न गर्नुको साटो अस्तित्व प्रति विश्वस्त भएकी ती बुढिआमा? कस्तो अविश्वासनीय अस्तित्वप्रतिको विश्वास हो त्यो? कस्तो भयानक यथार्थ हो त्यो?

सेतो कपडाले भाग्य पुच्छ, सुख लुच्छ, र खुसी पखाल्छ अनि यो भविष्य पुछ्ने टालो नारी जातिले सदैव अँगालेर राख्छन्, आफ्नो शरीर ढाक्छन् र यो रंगहीन पोछाले उनीहरूको भाग्य निर्देशित गर्छ र भत्काउँछ। स्वतन्त्रता र स्वच्छन्दता छिन्नभिन्न पार्दिन्छ। रंगहीन सेतोको अगाडि रंगिन रातोको तागत केही हैन भन्ने प्रत्याभूति गराउँछन् अमर न्यौपानेले यस पुस्तकमा।

एउटी अबोध र अविकसित चेतना बोकेकी बालिका जसका रहर र आकांक्षाहरू उसले सदाबहार आफू अगाडि उभिएका पहाडभन्दा अग्ला र फराकिलो भएको पनि भेउ पाउँदिनथिन्। उनैको राता सपना बालविवाहले सम्पूर्ण रुपमा मेटिदिन्छ र नष्टभ्रष्ट पार्दिन्छ।

पुस्तकको धेरै ठाउँमा मन तातो र आँखा धमिला भैरहे। पुस्तकले तान्यो, बाँध्यो र यसरी बाँध्यो, सकिएको पत्तै भएन। एउटा छुट्टै युग जिएको अनुभूति भयो मलाई।

खासै कठिन शब्दावली प्रयोग नगरी लेखिएको यस उपन्यास सामान्य पक्कै पनि हैन। यो एउटा अनुभूति मूलक उपन्यास भएको कारणले गर्दा पनि यो सशक्त, असाधारण र असामान्य पुस्तक बन्न पुगेको हो।

रंगिन र रंगहीन बीचको दूरी परिभाषित गर्ने ‘सेतो धरती’ पुस्तकको आवरण रातो, कथा सेतो, खल्लो र अत्यन्तै कारुणिक अनि लेखन उच्च कोटीको लाग्यो।