सभामुख हटाएर एमसीसी पास गरिछाड्छौँ: टोपबहादुर

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् ।

विहीबार रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले सभामुख विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए । सत्ता महागठबन्धन लोभी-पापीहरूको झुण्ड भएको आरोप लगाउँदै उनले संसदको काम कारबाहीलाई सुचारू रूपमा चलाउन सभामुखलाई हटाउँदा राम्रो हुने बताए ।

‘अहिले हामी प्रतिपक्षमा छौँ । एमसीसीबारे सरकारमा रहेका पार्टीहरू, महागठबन्धनले के गर्छ ? त्यो कुरा टुंगो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन’, रायमाझीले भने, ‘एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । सभामुख विधिसम्मत तरिकाले, देशको कानूनसम्मत तरिकाले नचलेको हुनाले हामी साथ दिन्छौँ ।’

स्थानीय चुनावमा हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको रायमाझीको आरोप छ । नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यक्ता नरहेको भन्दै पार्टीले आगामी निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने उनको भनाइ छ ।