भावुक हुँदै धुर्मुसले भने– रंगशाला निर्माणमा अनियमितता फेला परे जेसुकै सजाय भोग्न तयार छु

 

रंगशालाको निर्माण नयाँ मोडलबाट अघि बढ्छ, कागजी प्रक्रिया छिटो टुंग्याउनू– खेलकुद मन्त्री युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले चितवनमा बन्दा बन्दै निर्माणको काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बिहीबार अवलोकन गरे।

अवलोकनपछि भरतपुर महानगरपालिकाले मन्त्री, उक्त मन्त्रालयका सचिव डा.दामोदर रेग्मी, जिल्लास्थित राजनीतिक दलका नेताहरूको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्‍यो।

उक्त कार्यक्रममा राजनीतिक दलका जिल्ला नेताहरूले रंगशालाको निर्माणकर्ता संस्था धुर्मुस–सुन्तली फाउण्डेसनको आलोचना गरेका थिए।

‘धुर्मुसले ३५ प्रतिशत काम सकियो भनेको छ, महानगरले परीक्षण गर्दा १४ प्रतिशतमात्रै काम पूरा भएको कुरा आइरहेको छ। १७ करोड ऋणको कुरा के हो, प्रष्ट पार्नुपर्‍यो,’ नेकपा माओवादी केन्द्रका नेता बद्रीप्रसाद तिमिल्सिनाले भने, ‘एक–एक हिसाब सार्वजनिक गर्नुपर्‍यो। एक सय रुपैयाँ दान गर्नेले पनि आफ्नो पैसाको बारेमा थाहा पाउनुपर्‍यो।’

उनले रंगशाला निर्माणका लागि बच्चाले टिफिनबाट, कर्मचारीले तलबबाट, असहाय, अपाङ्गदेखि वृद्धवृद्धाले भत्ताबाट काटेर दान गरेको भन्दै हरेक पैसाको हिसाब चाहिने बताए।

‘मैले व्यक्तिगत रूपमा ५१ हजार दान गरें, दोसल्ला ओढाएर सम्मान गरियो, मेरो टोल सुधार समितिले २ लाख रुपैयाँ बढी जम्मा गरेर वडाध्यक्षमार्फत रंगशालालाई बुझायो,’ उनले भने, ‘अब धुर्मुस–सुन्तलीले रंगशाला निर्माण गर्न नसक्ने रे, ऋण लाग्यो रे। हामीले दिएको पैसाको हिसाब त चाहियो नि।’

नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माण गर्न नसक्ने हो भने हरेक हिसाब सार्वजनिक गरेर महानगरले स्वामित्व लिनु उपयुक्त हुने बताए।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष यमबहादुर परियारले आफूहरू पार्टीकै महाधिवेशनमा खटेझैं खट्दा पनि रंगशाला निर्माण हुन नसकेको भन्दै अब सरकारले बजेट व्यवस्थापन गरेर निर्माण सम्पन्न गर्नुपर्ने बताए।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले दुई पक्षीय सम्झौताअनुसार महानगरले काम गरे पनि फाउण्डेसनले काम गर्न नसकेको बताइन्।

महानगरपालिकाले उपयुक्त जग्गा उपलब्ध गराएर राजनीतिक दलहरूबीचमा समन्वय गर्दै बजेट पनि छुट्टाउँदै आएको उनले बताइन्।

‘आवश्यक स्रोत उहाँहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा संकलन गर्ने भन्ने थियो तर उहाँहरूले हामीले मात्रै बनाउन नसकिने भयो भन्नुभयो,’ उनले भनिन्।

सामाजिक सञ्जालहरूमा आफूविरूद्धका धेरै आलोचना खेप्दै आएका कलाकार धुर्मुस चितवनका सरोकारवालाले समेत आलोचना गरेपछि भावुक बने।

अन्तर्क्रियामा दस मिनेटभन्दा बढी बोलेका धुर्मुसले ‘अनियमितता भएको रहेछ भने म जेसुकै सजाय भोग्न तयार छु’ वाक्यांश पटक-पटक दोहोर्‍याए।

‘रंगशाला निर्माणका क्रममा आर्थिक अभाव भएपछि सरकारी निकायसँग समन्वय गर्नुपर्‍यो भनेर धेरै हिँडियो, मन्त्रालय महानगरपालिकासँग धेरै छलफलहरू भए। उपाय नलागेपछि पुस २ गते २०७८ सालको साउन मसान्तसम्मको अडिट रिपोर्ट र त्यसयताको अनुमानित रिपोर्ट महानगरलाई बुझाएका थियौं, भौतिक संरचनाको रिपोर्ट पनि बुझाएका थियौं,’ उनले भने, ‘पूर्ण रिपोर्ट तयार हुँदैछ। हामी संस्थागत रूपमा सबै कागजपत्र बुझाउँछौं।’

उनले प्रक्रिया चलिरहेको समयमा अनेकथरी टीकाटिप्पणी र आलोचना सुन्नुपर्दा मानसिक रूपमा तनाव भइरहेको बताए।

‘प्रक्रिया पूरा गर्न नपाउँदै प्रारम्भिक रिपोर्ट सार्वजनिक किन गरियो यसमा मेरो आपत्ति छ,’ उनले भने, ‘रंगशाला निर्माणका हरेक कुराहरूमा हामी एक–एक गरेर जवाफ दिन तयार छौं। संस्थागत रूपमै जवाफ दिन्छौं।’

उनले धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला बनाउँदा राष्ट्रको गरिमा बढ्ने कुरालाई गौण बनाएर कुनै व्यक्तिले आफ्ना लागि रंगशाला बनाउन खोजेकोझैं गरेर प्रचार र आलोचना भएको गुनासो गरे।

‘हामी त माध्यम मात्रै हौं। देशको रंगशाला बन्दै छ,’ उनले भने, ‘परिस्थितिले हामीलाई राम्रोसँग काम गर्न दिएन। कोरोना महामारी र लकडाउनको मारमा परियो। आफैं कोरोना संक्रमित हुँदा पनि दिनरात नभनी काम गरियो। तर आज म नै सिकार भइरहेको छु।’

उनले आफूले कतै गलत काम गरेको र अनियमितता गरेको पुष्टि भए जुनसुकै सजाय भोग्न तयार रहेको बताए।

युवा तथा खेलकुद मन्त्री गहतराजले अब नयाँ मोडलमा रंगशाला निर्माणको काम सुरू गर्न मन्त्रालय तयार रहेको बताए।

‘कागजी प्रक्रिया छिटो टुंग्याएर पठाउनुहोला। हामी यो रंगशालालाई अलपत्र पर्न दिँदैनौं। नयाँ मोडलबाट अघि बढाउनेछौं,’ उनले भने, ‘खेलकुद क्षेत्रको राष्ट्रिय गौरवको योजनाको रूपमा बहुवर्षीय बजेटबाट रंगशाला बनाउन सरकार तयार छ।’

मन्त्री गहतराजले खेल पूर्वाधारको विकासका लागि दातृ निकायहरूसँग छलफल चलिरहेको बताए।

नयाँ बजेट निर्माणको कसर सुरू हुने बेला पनि भएको भन्दै उनले कागजी प्रक्रिया टुंग्याएर सरकारले आवश्यक निर्माण लिने बताए।

मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले धुर्मुस-सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिका पनि रहेर रंगशाला निर्माणको काम अघि बढाउन सकिने सम्भावना अझै नसकिएको बताए।

फाउण्डेसन र महानगरपालिकाबीच भएको सम्झौतामा अन्य निकाय पनि साझेदार रहने बुँदा थपेर निर्माण कार्य अघि बढाउन सकिने उनले बताए।

‘प्रदेश सरकार र निजी क्षेत्रसमेत साझेदार रहनेगरी निर्माणको काम अघि बढाउन सकिन्छ यसका लागि संघीय सरकारले पनि भूमिका खेल्न सक्छ,’ उनले भने, ‘तर रंगशाला बन्नुपर्छ। अलिकतिमात्रै चासो बढायो भने छिट्टै निर्माण पूरा हुने ठूलो परियोजना यो क्रिकेट रंगशाला हो।’

उनले रंगशाला निर्माणको विषयमा स्थानीय सरोकारवाला सकारात्मक रूपले आ–आफ्नो ठाउँबाट जागरूक बन्नुपर्ने बताए।

‘तपाईंहरू एकजुट हुनुभएन भने त रंगशाला अलपत्र पर्छ,’ सचिव रेग्मीले भने, ‘तपाईंहरू सकारात्मक भइदिनु भएन भने त रंगशाला नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार जस्तो हुनसक्छ।’

हाँस्य कलाकारद्वय सीताराम कट्टेल‘धुर्मुस’ र कुञ्जना घिमिरे‘सुन्तली’ को अगुवाइमा धुर्मुस–सुन्तली फाउण्डेसनले २०७५ सालको माघमा निर्माणको घोषणा गरेको क्रिकेट रंगशाला निर्माणको काम गत साउनदेखि रोकिएको छ।

निर्माण क्रममा १७ करोड रुपैयाँ ऋण लागेको भन्दै फाउण्डेसनले सरकारसँग ऋण तिर्न सहयोग मागेको थियो। तर सरकारी निकायबाट सहयोगको आश्वासनमात्रै पाएपछि फाउण्डेसनले आर्थिक प्रतिवेदन र भौतिक संरचनाको प्रतिवेदनसहितको पत्र भरतपुर महानगरपालिकालाई बुझाउँदै रंगशालाको स्वामित्व लिइदिन आग्रह गरेको थियो।

सेतोपाटीबाट