बेलायतको नया भाइरस कत्तिको खतरनाक ? नेपाली बैज्ञानिकले यसो भने

डा. रवीन्द्र पाण्डे,
दोस्रो लहरको चपेटामा परेको युरोप अहिले म्युटेसन भएर नयाँ भेरिएन्टको रुपमा बेलायतबाट फैलिएको कोरोना महामारीको अर्को अध्यायमा प्रवेश गर्ने जोखिममा छ | बेलायतको दक्षिणपूर्वी क्षेत्रबाट फैलिएको यो प्रजातिको भाइरसले सिंगो बेलायतलाई असर गरेको छ | आयरल्याण्ड, फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापान लगायतका देशमा पनि यो भाइरस भित्रिएको छ |

नयाँ प्रजातिको यो भाइरसको अरुलाई सर्ने दर तीब्र छ | यसको घातकता अझै निश्चित भएको छैन | हामीले एयरपोर्ट तथा सिमानामा कडाइ नगर्ने हो भने तथा जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन नगर्ने हो भने महामारी फेरी दोहोरिन सक्छ | घातक प्रभाव कम भएपनि जोखिम बर्गका व्यक्ति तथा कमजोर स्वास्थ्य प्रणालीको लागि यो नयाँ भाइरस ठूलो चुनौती हुनेछ |

हाम्रो देशमा अहिले आन्दोलनको मौसम छ | दैनिक भइरहेका भीडभाडयुक्त बैठक, प्रदर्शनी, जुलुस, नाराबाजी आदिको कारण संक्रमण फैलिने ठूलो खतरा छ | अहिले महामारीको अवस्था कम भएको बेला हामी सबैले अनिबार्य र सहि तरिकाले मास्क लगाउने तथा भीडभाड नगर्ने हो भने हामी सुरक्षित हुनेछौं | बिरोध तथा भेलाको स्वरूप बदलेर जनस्वास्थ्यका मापदण्ड पालना गर्नु / गराउनु नितान्त जरुरी छ |

जसरी वुहानबाट सुरु भएको महामारी संसारभर फैलियो, त्यसैगरि बेलायतबाट सुरु भएको नयाँ प्रजातिको महामारी सबै देशमा नपुग्ला भन्न सकिदैन | सरकारले यो नयाँ प्रजातिको भाइरसको रोकथाम गर्नको लागि आवश्यक रणनीति बनाउनु अत्यावश्यक छ |

योजनाबद्ध रुपमा निगरानी, परीक्षण, आइसोलेसन, उपचार क्षमता प्रबर्धन तथा खोप ल्याउने काममा निष्क्रिय हुने छुट हामीलाई छैन | हामी आम जनता यो प्रजातिबाट आत्तिनुपर्दैन | यसको घातकता अर्को कोरोना भाइरसभन्दा बढी छैन र अहिले बनेका खोप यो प्रजातिको लागि पनि उपयोगी हुने भनेर वैज्ञानिकहरुले बताएका छन् |