पानी र खानाको महत्व मृगौला रोगी भन्दा बढी कसले बुझेको होला र प्रिय प्रधानमन्त्री ज्यु !

सरगम भट्टराई

#सरकारी_कमरेड_स्कूटी_बाल्ने_कांग्रेसीहरुका_नाममा…
डा. के.सी. जनताका छोरा डाक्टर हुनुपर्छ, दूरदराजमा मेडिकल शिक्षाको पहूँच हुनुपर्छ भनेर अचेत भएर २२ दिनदेखि लडिरहेका छन्। डेढ़ दर्जन बढ़ी पटकसम्म सरकारले झुक्याएको झुक्याई छ। अब मर्छ कि भनेर डराउँदै सहमतिको ललिपप देखाउँदै, अनसन तोडाउँदै गर्दा यी डाक्टरलाई यानिकी नेपाली जनतालाई उल्लु बनाएको बनायै छन् सरकारहरुले।

यसपालि त झन् बलियो कम्युनिष्ट सरकार छ। सरकारमा पुगेका पार्टीका घोषणापत्रहरुमा लम्बेतान यो गर्छु, यसो हुनेछ भनिने लाईनहरुमा यी डाक्टरले गर गर भनेका धेरै कुराहरु पनि छन्।

महामारीमा पनि भ्रष्टाचार झन् ठूलो महामारी बनिरहेको छ। कोरोनाको कारणले जनतामा रोना(रुवाई) भए पनि सरकार र छायाँ सरकारलाई मतलब छैन। प्रमुख प्रतिपक्षले दुई चारवटा राजदूत, जिएम आदि दाउ मारेपछि त्यो लगभग चुपचाप छ। समृद्ध नेपाल बनाउने जिम्मा पाएको सरकारले एउटा गतिलो काम गरेजस्तो गर्छ तर पाँचवटा ग़लत हर्कत गर्छ, प्रतिपक्ष प्राय: बोल्दैन।

यसैबीच प्रदेश पाँचको सरकारले प्रदेशको राजधानी दाङ देउखुरीको भालुबाङ बनाउने निर्णय गर्यो।

केन्द्रको हिशाबले भालुबाङ खासै अनुपयुक्त ठाउँ थिएन। पश्चिमतर्फका बाँके, बर्दिया, उत्तर पश्चिमतिरका रोल्पा, पूर्वी रुकुम र प्युठान जिल्लाका लागि पनि उपयुक्त ठाउँ नै थियो। नवलपरासी, पाल्पा, गुल्मीका लागि केही अपायक देखिएपनि रुपन्देही र कपिलवस्तुका लागि भालुबाङ साह्रै अबैज्ञानिक र नाजायज थिएन।

सामान्य सुझबुझ मात्र लगाउने या फित्ता लगाएर नाप्ने हो भने त्यो क्षेत्र कपिलवस्तुको कुनै भाग वा अर्घाँखाँचीको कुनै भाग पर्थ्यो होला।

तर बुटवल राजधानीकै ललिपपमा रुपन्देहीमा बिष्णु पौडेलले चुनाव जिते, उता मुख्यमन्त्री जित्ने शंकर पोख्रेलले पनि दाङलाई राजधानी बनाउने आश्वाशन राम्रै बाँडेका थिए होलान्। राजनीतिक जालकै आधारमा बागमती प्रदेशको राजधानी हेटौडा भएकै नज़ीर र बिष्णु पौडेलको जिल्ला भए बाहेक बुटवलले राजधानी हुने ल्याकत राख्दैन।

तर राजधानी जहाँ बनेपनि आम मान्छेले केही पाउने हैनन्। तपाईँले हामीले पाउने केही हैन। प्रदेशकै राजधानी बनेछ भनेपनि बन्ने भनेका भ्रष्टाचार र भ्रष्टाचारीका भवन र निवासहरु बन्ने हुन्। जग्गा दलालहरुका थप अग्ला घरहरु बन्ने हुन्। किनकी अहिलेसम्म भएको त्यही नै हो। राजधानी यता हुन्छ र उता हुन्छ भन्दै भू-माफियाहरुले करोडौँको भेटी चढाएका होलान्। त्यसैको हिशाब किताब हुनुपर्छ त्यो तोडफोड।

खासमा प्रदेश सरकारको औचित्य केही पनि देखिएको छैन। स्थानीय निकायले सम्पूर्ण काम गरिरहेको छ। प्रदेश सरकारको काम भने नयाँ छोटेराजाहरुको उत्पादन गर्ने र तिनीहरुको ब्यवस्थापन गर्ने बाहेक अरु केही देखिएको छैन। हुन त स्थानीय निकायमा पनि छोटा राजाहरु जन्मेका छन्, तर कमसेकम राम्रो काम गर्न सके तिनीहरु चाहिँ आवश्यक हुन्।

बिधिले चल्ने देश भएको भए पो सबै कुरा स्वभाविक हुन्छ। नेताहरुका गोजीमा कानुन भएपछि जसको पल्ला भारी हुन्छ, त्यसैले जित्छ। राजधानी त एउटा पक्ष मात्रै हो- अहिलेसम्म राजनीतिले डोर्याएका हरेक क्षेत्रहरु कसैको लहडमा मात्रै चलेका छन्। न्याँय, कुटनीति, सुशासन, प्रशासनदेखि जनप्रतिनिधिमूलक संस्थाहरु कतै पनि पद्धतिले चलेका छैनन्। जता हेर्यो त्यतै ध्वस्त छ।

दश बर्षे कठीन युद्धबाट बल्ल बल्ल आराम पाएको बेला अमानवीय शैलीमा बिपीका चेलाहरुले सरकारी मोटरसाईकल जलाए, गाड़ी तोड़फोड़ गरे भन्दा स्वर्गबाट बिपीले के भन्दै होलान्? गणेशमान, कृष्ण प्रसादले के भन्दै होलान्? सच्चा कांग्रेसीजनले के भन्दै होलान्?

के कांग्रेसले यसरी तोड़फोड़ र आगज़नी गर्न सुहाउँछ? त्यो पनि एउटा घाँस खाने पशुले सम्म उपयुक्त नदेख्ने भूगोलमा राजधानी हुनैपर्छ भनेर ! मृत्युशैयामा पुगेको कांग्रेसलाई ब्युताउने संजीवनी बुटी यही स्कूटी जलाएर निस्केको धुवाँले बन्छ?

हुन त कांग्रेसीजनहरुले टायर र स्कूटी बाले, नेकपा कमरेडहरुले त के के गरेँ भन्ने कुरा यता कति लेखिरहने हो र ? मैले नि त्यो कुरा भनिरहने कुरा पनि आएन।

जे पनि अति भएको राम्रो होईन, गोविन्द के.सी.ले अब सरकारसंग मागिरहने होईन, उनले स्वास्थ्यको कुरा मात्र एजेण्डा बनाउने हैन, अब त भ्रष्टाचारको बिरोध पहिलो एजेण्डा बनाउनुपर्छ, मेडिकल शिक्षामात्र हैन सम्पूर्ण शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तनको लागि लड्नुपर्छ।

नागरिक बनेर हेर्नुस्, कांग्रेस र कम्युनिस्ट दुबैले गर्दैनन्। अम्बाको बोटमा आँप फल्दैन। जनताले बिकल्प खोज्ने बेला भएको छ। पूरानै पार्टीमा भएका केही नेताहरु ढलको अत्तरजस्तै हुन्। समय बित्दै जाँदा उनीहरु पनि ढलजस्तै गन्हाउँछन्।

राजनीतिको सिंगो ढलमा भ्रष्टाचारको भाईरस पसेको छ, त्यो ढल सफा गर्न बैकल्पिक वालाहरु अलि मेहनत गरेर लागून्, जनताका मनसम्म पुगून्। उनीहरुका पनि कामभन्दा कुरा बढ़ी सुनिएका छन्।

लोकतन्त्रको बिकल्प लोकतन्त्र हो, लोकतन्त्र भएरै यति लेख पाईएको छ। आफ्नै भूमिमा भएकाहरुले भीष्मप्रतिज्ञा गर्नोस्, परदेशमा भएकाले केही नसके आर्थिक र नैतिक सहयोग गर्नेछन्।

तोडफोड, हत्या, हिंसा, भ्रष्टाचार, ढिलासुस्ती र ग़ैरज़िम्मेवारहरुको समूल नष्ट हुनैपर्छ।

नेपाल बन्द गर्नका लागि बनेको होईन। सच्चिनोस्, नत्र सक्किनुहुनेछ। आज कसैको गोटी बनेर यसरी सार्वजनिक सम्पति पोल्नुभन्दा यी सन्त डाक्टरको पाउको नजिकै गएर क्षमापूजा गर्नुहोस्, यी डाक्टरको ज्यान बचाउन दवाव दिनुहोस्। बिरोधको शैली फेर्न अनुरोध गर्नुस्। यी डाक्टरलाई केही भए सात पुस्तासम्म हामीले धिक्कार भन्नुपर्छ।

सरकार ! डा. के.सीका माँग जायज़ छैनन् भने छैनन् भन्, होईन भने सरकारजस्तो ब्यवहार गर ! सत्याग्रहीमा जति शक्ति अरु कसैको हुदैन।