घरमा छोराछोरी हराए भनेर रुवाबासी, छोराछोरी लगाएको सिक्रि बेचेर पुल हेर्न १ सय किलोमिटर टाढा पुगे

मानिसको सोच, इच्छा पनि अनेक हुन्छन् । र, त्यो इच्छाशक्ति दृढ भए जबर्जस्त पनि पूरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तीजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो ।

निसीखोलाको वडा नं. ७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ जनामध्ये चार जना साँझ घरमा फर्के । १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय रामप्रसाद सुनार, १६ वर्षीय श्यामु सिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली भने सम्पर्कविहीन भए । परिवारले खोजी गर्न झिवाखोला प्रहरीमा निवेदनसमेत दियो । हराएको भनिएको पाँच दिनपछि बागलुङ बजारबाट ती किशोर–किशोरी फेला परे ।

यद्यपि, उनीहरु हराएको नभई विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल हेर्नका लागि बागलुङ आएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार नर्सिङकोट घुम्न गएका आठमध्ये चार जना बागलुङका लागि निसीखोलाबाट हिँडेर बुर्तिवाङ आएका थिए । थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस :