अर्घाखाँचीका दुईजना कोरोना संक्रमित निको !

कमला घिमिरे,

अर्घाखाँचीका दुईजना कोरोना संक्रमित निको भएका छन् । पाणिनी गाउँपालिका ८, पालीको कमला माविको क्वारेन्टाइनमा रहेका दुईजना कोरोना जितेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

गत जेठ २ गते भारतको रायबरेलीबाट पैदल हिंडेरै पाँचजना गृहजिल्ला आइपुगेका उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर-८ को विद्यालयमा क्वारेन्टाइनमा राखिएको थियो । गत जेठ १० गते शनिबार उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा क्वारेन्टाइनमा रहेका १९ वर्षीय र ४३ वर्षीय दुई पुरुषमा पीसीआर जाँच गर्दा गत जेठ १३ गते कोरोना पोजिटिभ देखिएको थियो ।

पुन: स्वाब परीक्षणको लागि पठाइएको थियो । बुधबार उनीहरु दुबैजनाको रिपोर्ट कोरोना नेगेटिभ आएको र उनीहरुलाई घर पठाउने तयारी भइरहेको छ । उनीहरु घरमा गएर सेल्फ क्वारेन्टाइनमा बस्ने गरी पठाइने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर गौतमले बताए ।