मुख्यमन्त्री राई – कोरोना भाइसर विरुद्ध एक भएर लड्नु पर्छ

मनोज दाहाल,

विराटनगर, १३ वैशाख।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लड्नु पर्ने बताउनुभएको छ। मुख्यमन्त्री राई आज कोरोना भाईरस प्रभावित जिल्लाहरु उदयपुर र भोजपुरका स्थानीयबासीहरुलाई सम्वोधन गर्दै उक्त धारणा राख्नु भएको हो।

मुख्यमन्त्री राईले प्रदेश सरकार नागरिकहरुका साथ भएकाले त्रसित नभई बस्न आग्रह गर्नु भयो। उहाँले सरकारले जनताको स्वास्थ्य उपचारको पूर्ण जिम्मेवारी लिने बताउदै नआत्ति बस्न भन्नु भयो।

मुख्यमन्त्री राईले सङक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परीक्षण गरिने जानकारी गराउनु भयो। मुख्यमन्त्री राई प्रदेशका दुईबटा कोरोना भाइरस प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गर्नु भएको हो।

उहाँले स्वास्थ्य सामग्रीसहित कोरोना सङ्क्रमित फेला परेपछि पूर्ण बन्दाबन्दी गरिएका क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनु भयो।

मुख्यमन्त्रीसँग आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपाली सेनाको टोली कोरोना प्रभावित क्षेत्रमा पुग्नु भएको थियो।

मुख्यमन्त्री राई आज उदयपुर र गृहजिल्ला भोजपुर पुगेको जानकारी मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनु भयो।

मुख्यमन्त्रीको टोलीले उदयपुरको भुल्केसहित र भोजपुरको हतुवागढी पुग्नु भएको छ । टोलीले उदयपुरको कटारी– १ बेलसोतमा रहेको क्वारेन्टाइन स्थलको समेत निरीक्षण गरेको सल्लाहकार सुवेदीले जानकारी दिनुभयो।

यसैगरी मुख्यमन्त्रीको टोलीले उदयपुर र भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री समेत प्रदान गर्नु भएको छ। उक्त स्थानमा कोरोना भाईरस परीक्षण गर्ने स्वास्थ्य सामग्री अभाव रहेको थियो।

मुख्यमन्त्रीले थर्मगन, पीपीई, एन ९५ माक्स, सेनिटाइजर, ग्लोभ्स, आरडीटी किट लगायतका स्वास्थ्य सामग्री हतुवागढी र उदयपुरमा प्रदान गर्नु भयो । प्रदेश नं.१ मा शनिवारसम्म ३० जनालाई कोरोना सङ्क्रमण फेला परेको छ।