बैशाख १५ देखि लकडाउन के गर्ने ? कसरी खोल्ने ? : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद्

नेपालमा कोरोना संक्रमण अन्य देशको तुलनामा निकै कम भएको प्रमुख कारण लकडाउन हो | सरकार र जनताको अनुशाशनको कारण हामी कोरोना संक्रमणको चपेटाबाट बचेका छौं | यो तथ्य हामी सबैले बुझ्नु जरुरी छ | प्रधानमन्त्रीले भने झैं जहिलेसम्म भारतमा कोरोना संक्रमण नियन्त्रण हुँदैन, त्यो बेलासम्म लकडाउन अपरिहार्य हुन्छ | हाम्रो स्वास्थ्य प्रणालीले कोरोनाको महामारी थेग्न सक्दैन | तसर्थ लकडाउन खोल्न बिशेष सतर्कता, अध्ययन, विज्ञको सुझाब आदिलाई समेटेर कदम चाल्नु जरुरी छ | यसको लागि होमवर्क पुगेको छैन |

बैशाख १५ गतेदेखि २ हप्ता लकडाउन कायम गरेर तथा त्यो एक हप्तामा गृहकार्य गरेर सेमी लकडाउन गर्नु उपयुक्त हुन्छ | लकडाउन लगाउन भन्दा खोल्न गाह्रो छ | अमेरिकाले लामो गृहकार्य गरेर लकडाउनलाई बिभिन्न चरणमा खोल्दैछ | त्यो मोडेल तयार भएपछि एक हप्ताको समय दिएर लकडाउन खुकुलो बनाउंदैछ | नेपालले पनि लकडाउनको मोडेल बनाएर, त्यसलाई व्यापक छलफल गरेर तथा कम्तीमा १ हप्ताको समय दिएर लकडाउन खुकुलो गर्नु पर्दछ | इटालीले कसरी लकडाउन खोल्दैछ भनेर तल उल्लेख गरेको छु | यो मोडेल नेपालको परिप्रेक्ष्यमा एउटा उदाहरण पक्कै हुनेछ |

इटालीले यसरी तीन चरणमा बिभाजन गरेर लकडाउन खुकुलो बनाएको छ ।

पहिलो चरण • अप्रिल १४ मा पुस्तकालय र स्टेशनरी स्टोरहरु तथा साना र भर्खरै जन्मेका बच्चाहरूको लागि आवश्यक पर्ने कपडा पसलहरु खोल्ने निर्णय भएको छ ।
• अप्रिल १८ बाट कृषिसंग सम्बन्धित अन्य औद्योगिक कम्पनीहरू खोल्न सकिने ।

दोस्रो चरण : • मे ४ बाट मास्क लगाएर, एक आपसमा सुरक्षा दूरी अपनाएर स्वतन्त्रतापूवक हिड्डुल गर्न पाइने |
• मे ४ बाट नै फर्नीचर र कपडाहरूको स्टोरहरूमा लाइनमा बसेर अर्थात अग्रिम रिजर्भेसन गरेर जान सकिन्छ तर ठुला किनमेल केन्द्रहरू जस्तै सपिङ्ग मल भने खुल्ने छैनन् |
• मे ११ बाट अदालत र पेशेवर कार्यालयहरू खुल्ने | • मे १८ बाट बार र रेस्टुरेन्ट तथा अन्य खानपानका गतिविधिहरू खोलिने तर सामाजिक दुरी अपनाएर मात्रै ।
• मे २५ बाट सैलुन तथा हेयरड्रेसरहरू अनिवार्य मास्क प्रयोग गरि एकपटकमा एकजनाको मात्र प्रवेश गरेर खोल्ने | • मे ३१ बाट फुटबल च्याम्पियनशिप र अन्य सामूहिक खेलहरू सुरुवात हुनसक्छन् । • जुन ८ बाट जिम तथा खेलकुद केन्द्रहरू कम भेला हुने गरि संचालन गर्न पाउने ।

तेस्रो चरण : • सेप्टेम्बरबाट हाई स्कूलहरु सिफ्ट डिभिजन गरेर खुल्नेछन् भने नर्सरी र प्राथमिक विद्यालयहरुको बारेमा अझै कुनै निर्णय भएको छैन , अनलाइन पढाईमा सिमित हुन सक्नेछ।
• यो बर्षको अन्तिममा डिसेम्बरबाट सिनेमा र थिएटरहरू खुल्न सक्छन् । • आगामी बर्षको 20 मार्च 2021 बाट डिस्को, क्यासिनो, रंगशाला खोल्न सकिनेछ ।
• एक बर्ष पछी 31 मार्च 2021 बाट सम्पुर्ण बोर्डरहरू खुला रुपले आवतजावत गर्न सकिने र तत्पश्चात सबै किसिमका प्रतिबन्धहरुको अन्त्य हुनसक्छ ।

बिज्ञहरुले आगामी बर्ष 2021 को बसन्त ऋतु बाट जनजीवन पहिले जस्तै सामान्य अवस्थामा फर्किन सक्ने अनुमान गरेका छन् ।
नेपाल सरकारले पनि लकडाउनको अन्त्य बिज्ञहरुको परामर्शमा बैज्ञानिक तवरले सोच्न जरुरी छ । सरकारी स्कुलको घण्टी बज्नासाथ सबै विद्यार्थीहरु एकैसाथ कक्षा कोठाबाट बाहिर निस्किए जस्तै हुल बाहिर नआओस र क्रमशः आवश्यकता अनुसार भिडभाड नहुने गरि सुरक्षा दुरी अपनाउनु अत्यावश्यक छ | किनकि आजको दिनसम्म संसारमा दुई मिलियनभन्दा धेरै मानिसहरू कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । अनुसन्धानकर्ताहरुको भनाइ अनुसार यो भाइरसको भ्याक्सिन तयार हुन कम्तीमा पनि एक बर्ष लाग्ने देखिन्छ । सरसफाइ र सोसल डिस्ट्यान्स नै कोरोना संक्रमण बाट जोगिने मुख्य उपाय हो |

नेपाल सरकारले कृषि, उद्योग, निर्माण कार्य, खाधान्न पसल, निजि अस्पताल, बैंक, सेयर मार्केट, खाद्य ढुवानी ट्रक ( १ जना ड्राइभर र एकजना हेल्पर मात्र राखेर ), स्टेसनरी लगायत मात्र पहिलो चरणमा खोल्नु उपयुक्त देखिन्छ | त्यस्तै सरकारी कार्यालयमा सामाजिक दुरी कायम गर्न बिहान र अपरान्ह गरेर २ सिफ्ट चलाउने वा आधा कर्मचारी एक दिन, आधा कर्मचारी अर्को दिन गरेर चलाउनु पर्दछ | सरकारी कार्यालयले कर्मचारीलाई आफ्नै बसले ल्याउने / पुर्याउने गर्नुपर्दछ | निजि सवारी साधन जोर बिजोर गरेर चलाउन सकिन्छ | यी हरेक खुकुलोपनलाई फुकी फुकी पाइला चाल्ने गरि तालिका बनाउन जरुरी छ |

संक्रमित तथा संक्रमण उन्मुख जोखिम क्षेत्रलाई शिलबन्दी गर्नुपर्छ | अनिबार्य मास्क लगाउने, २ जनाभन्दा धेरै व्यक्ति संगै हिंड्न नपाउने, ६ फिटको दुरी कायम गर्ने, तरकारी तथा फलफूल पसल छुट्टै नखोलेर स्थानीय किराना पसलबाट मात्र खरिदबिक्रि गर्ने ब्यबस्था मिलाउने, सपिंग मल लगायत भीडभाड हुने ठाउँ नखोल्ने, सेवा प्रदायक स्थानलाई दैनिक संक्रमणरहित बनाउने, साबुनपानीको ब्यबस्था गर्ने लगायत धेरै गृहकार्य गरेर मात्र लकडाउनको मोडेल तयार गर्नुपर्दछ | अन्यथा सहरमा संक्रमण फैलियो भने स्थिति अकल्पनीय हुन सक्ने तर्फ सरकार र जनता चनाखो हुनु जरुरी छ |
( दुर्गादत्त शर्माको साथ |