मनाउन नसकेको सुहागरात :

कल्पना खरेल – पूर्णिमाको शुक्ल पक्ष जस्तै गरी मेरो उमेर समयले माथि माथि उचालिरहेको थियो । नारायणी नदी जस्तै गरी कहिले उर्लेर भेल त कहिले मौन उतार चढावका साथ अविरल बहावसँगै थाहै नपाई बाल्यकाल पार गरेर जवानीको रंगहरु भरिँदै थिए । मेरो यौवनलाई साथ लिएर समयको प्रवाह निरन्तर बगिरहेको थियो । दिन प्रतिदिन स्वभाव चञ्चलिँदै थियो । मनका चाहना र मागहरु समय र उमेरले फेरबदल गरिरहेको थियो । प्रकृतिले गुलाफको फूल जस्तै गरी फक्राइरहेको जवानीमा अझै सुन्दरी चिटिक्क पर्ने उत्सुकता जागिरेको थियो । आफ्नै प्रतिबिम्बले आफैँलाई मख्ख बनाएको भान हुन्थ्यो ।

म सँगै पढ्ने साथी त धेरै थिए । तर पनि धेरै नजिकको साथी नितेश थिए । हामी हाम्रा गाउँको स्कुलमा सँगै पढ्थ्यौँ । हामी दुबैले एसएलसी पनि राम्रोसँग पास गर्यौं । कक्षा ११ सुरू भयो, नितेश र म दिन प्रतिदिन धेरै नजिक हुँदै गयौँ, हामी दुईका बीच प्रेमको आँकुरा पलाउन सुरू भयो । हामी साथीबाट बिस्तारै प्रेमीप्रेमिकामा परिणत भयौँ । हरेक शनिबार हामी डेटिङ्ग जान्थ्यौँ । समय बित्दै गयो ।

हामी दुईको प्रेम झन् झन् झाँगिदै गयो । जब हामी डेटिङ्ग गएक बेला नितेशले मेरो कपाल सुम्सुम्याउँदै भन्थे— ऋतु, म तिम्रो साथभन्दा टाढा कहिल्यै पनि हुन सक्दिनँ । तिमी मेरो धड्कनमा छौ । तिमी नै मेरो संसार हौ । तिमी नै मेरो मनको नाता हौ । तिमी नै मेरो जिन्दगी हौ भन्थे । हामी दुईले हात समातेर जुनीजुनी सँगै मर्ने सँगै बाँच्ने बाचा गरेका थियौँ । मलाई पनि नितेशको अँगालोमा हराइरहुँ जस्तो हुन्थ्यो । एक दिन नितेशलाई नदेख्दा यो संसारमा एक्लो भएको महसुस हुन्थ्यो । हामी दुईको प्रेम दिन प्रतिदिन लैला–मज्नुको जस्तो गहिरिँदै गइरहेको थियो । मलाई नितेशविनाको जिन्दगी कल्पना गर्न पनि गाह्रो हुन्थ्यो ।

जब नितेश र म भेट हुन्थ्यौँ संसारको सबै कुरा बिर्सी हामी दुई छुट्टै संसारमा हराउँथ्यौ । हाम्रो प्रेमलाई देखेर होला ती सुन्दर प्रकृति एवं मानिसहरूले पनि डाहा गरिरहेको भान हुन्थ्यो । हाम्रा प्रेमको चर्चा गाउँघरतिर पनि चल्न थाल्यो । हामी बीचको सम्बन्ध घरपरिवारले पनि सुइँको पाएछन् । नितेश गरिब घरको छोरा थिए । जात पनि नमिल्ने यसै कारणले मलाई छिटो अर्को ठाउँमा विवाह गरिदिने मनसाय मेरा घरपरिवारमा भयो । यतिकैमा मेरो विवाहको लागि पोखराबाट कुरा चल्न थाल्यो । आफ्नो ब्राह्मण जातको राम्रो घरपरिवार राम्रो केटाको कुरा आएपछि मलाई मेरा बाबा, मामुले मन पराएका केटासँग विवाह गरिदिने निर्णय गर्नुभयो । मैले विवाह अस्वीकार गरेँ, बाबा मामु निकै चिन्तित हुनुभयो । हामीले खोजेका केटासँग विवाह नगरे म आत्महत्या गरिदिन्छु भन्दै मामु रुन लाग्नुभयो ।

म दोधारमा परेँ । आफ्नो प्रेमीलाई छोडौँ कि लालनपालन गरी शिक्षादीक्षा दिई १० महिना गर्भमा राखी जन्म दिने आमालाई आत्महत्या गर्न दिऊँ, मेरो मनमा ठूला् अन्तद्र्वन्द्व चल्न थाल्यो । मलाई निर्णय गर्न निकै गाह्रो भयो । म पनि मेरा कारणले आफूलाई जन्म दिने आमाको आत्महत्या कसरी हेर्न सकुँ ? घरपरिवाबाट मलाई निकै दबाब आयो, अन्तिममा मलाई बाध्यतामा पारी बाबामामुले खोजेको केटासँग विवाह गर्ने निर्णय भयो । म आकाशबाट खसेको जस्तो भएँ । म मेरो प्राणप्यारो नितेशभन्दा टाढा हुन कसरी सक्थेँ र । मेरा लागि विवाह पनि कुनै ठूलो सजायँ भयो । नितेश पनि मेरो विवाहको कुराले पागल जस्तो भएका थिए । मेरो हात समाएर ऋतु तिमीबिना म बाँच्न सक्दिन भन्दै बिलौना गरेर रुन लागे ।

म के गरौँ ? मेरा जीवनमा ठूलो पहाड बनी आएको समस्यालाई मसँग कुनै विकल्प थिएन । मेरो मनभित्रको आँधीबेहेरीको उति ख्याल गरिएन । मेरा अनिच्छाको बाबजुद पनि मेरो विवाह पोखराको सुमन नामको केटासँग तय भयो । विवाहको दिन तोकियो । विवाह भव्य रुपमा सम्पन्न भयो । म सुमनकी बेहुली भएँ । म सुमनको घरमा बुहारी बनी भित्रिन पुगेँ । सबै घरपरिवारले कति सुन्दर बुहारी कति लक्षिनकी रहिछन् भनी प्रशंसा गर्न थाले । मलाई देखेर सबै परिवार खुसी थिए । सुमन पनि निकै खुसी भएका थिए । यतिकैमा राति भयो, मलाई सुमनको साथ सुहागरात मनाउनुपर्ने भयो । बिचारा सुमन । उनको के नै दोष थियो र ? उनले कस्तो सपना मनभरि बुनेका थिए होलान् ? म र सुमनको एउटै बिस्तरामा रात बित्यो । सुमन मनभरिका आफ्ना भावना मलाई वर्षाउन खोज्थे तर पनि म सुमनको न्यायो अँगालोमा बाँधिन सकिनँ । सुमनले पनि मलाई कुनै करकाप जबर्जस्ती गरेनन् ।

सुहागरात पनि नीरस र अपूरो भयो । सुहागरातमा पनि म मेरो प्राणप्यारो नितेशलाई सम्झेर तड्पी नै रहेकी थिएँ । मेरा मनमस्तिष्कमा नितेशको बास थियो । कसरी म सुमनसँग सुहागरात मनाउन सक्थेँ र ? नितेशबिना मेरो संसार अन्धकार भएको थियो । मुटु त एउटा हुँदो रहेछ, एउटा मुटु कसैलाई दिइसकेकी थिएँ, फेरि कसैलाई दिन नसकिने रहेछ । मेरा मनमा उथलपुथल भुइँचालो गइरहेको थियो । ती पोखराका सुन्दर प्रकृतिले मेरो मनभित्रको उथलपुथललाई बुझ्न खोजिरहेको भान हुन्थ्यो । सुमनको अति सुन्दर महल मेरो लागि मसान घरजस्तै भएको थियो । मेरो आँखामा वर्षाको झरीजस्तै झरी बर्सिरहेको थियो ।

मेरो मन केही गरे पनि खुसी हुन सकेन । सुमन मेरो खुसीका लागि धेरै ठाउँ घुमाउन लैजान्थे । पोखराको सुन्दर प्रकृति र सुन्दर सहरभित्र म आफैँ हराइरहेको महसुस हुन्थ्यो । केही गरे पनि म खुसी हुन सकिनँ । धेरै रातहरू सुमनको साथ बिते, म कहिल्यै पनि सुमनको न्यायो अँगालोमा बाँधिन सकिनँ । सुमन मेरो मन जित्न धेरै कोसिस गर्थे, उनका मनभरिको भावना र चाहना मलाई वर्षाएका हुन्थे तर पनि मेरा मनले सुमनलाई स्वीकार गर्न सकेन । यस्तै गरी छ महिना बित्यो, सुमनका सिँदुरले मात्र मलाई रंगायो । सुमनको निर्दोष भावनाले मलाई रंगाउन सकेन । म आफूले आफैँलाई प्रश्न गर्थे किन सुमनको विशाल एकोहोरो मायालाई मेरो मनले तिरस्कार गरिरहेछ ? बिचरा सुमनको के नै दोष थियो र ? मेरो नितेशसँग फोनमा कुरा भइरहन्थ्यो । मेरो बेहाल देखेर नितेश निकै दुःखी हुन्थे ।

ऋतु ! तिमी सुमनकी भइसक्यौ, सुमनसँग खुसी भएर बस, म जतिसुकै घाइते भए पनि तिम्रो खुसी मेरो खुसी हो । ऋतु ! तिमीले आफूलाई सम्हाल भनी नितेशले सम्झाउँथे । तर, पनि नितेशसँगको प्रेम झनै मेरो विवाह पश्चात नटुट्ने डोरी जसरी लम्बिँदै गयो । सागरसरी गहिरिँदै गयो । मनै मनको नाता अझै कसिँदै गयो ! यतिकैमा मेरो बीएको परीक्षा आयो । मैले चितवन माइतीमा गएर परीक्षा दिनुपर्ने भयो । म माइत गएँ । परीक्षा पनि दिएर सकियो । मेरो नितेशसँग धेरैजसो भेट भइरहन थाल्यो । म फेरि नितेशको न्यानो अँगालोमा हराउन थालेँ । साँच्चि नै यस मनले नितेशको न्यानो अँगालोबाट अलग हुन चाएन । हामी दुवै छुट्टिन नसक्ने अवस्था भयो । फेरि हाम्रो मिलन भयो । हामी दुवै सँगै जिन्दगी बिताउने निर्णयमा पुग्यौँ । म नितेशका घरमा नितेशकी जीवन साथी भएर एकसाथ हामी बस्न थाल्यौँ । नितेशसँगको साथ मेरो लागि स्वर्गसरी भयो ।

नितेशसँगका मिठामिठा क्षण अति नै रोमाञ्चक भए । म नितेशका नयाँ स्नेही व्यवहारले अझ लट्ठ हुँदै गएँ । बिस्तारै बिस्तारै उनीप्रति सदाका लागि समर्पित भएँ । यस्तै अति मिठो क्षण बिताउँदै थियौँ । आखिर मैले मेरा जीवनको खुसी पाएँ तर समाजका दृष्टिले हेर्दा मैले सुमनप्रति घात गरिरहेकी थिएँ । एउटा निर्दोष र अनजान व्यक्तिलाई धोका दिँदै छु भन्ने मलाई एक मनले भन्दथ्यो भने अर्का मनले आफ्नो खुसी पाएर मख्ख बनाउँथ्यो । म लामो समयसम्म सुमनको घर पोखरा नफर्केपछि सुमन मलाई लिन चितवन मेरो माइतीघर आएछन् । त्यस समय म सुमनकी नभएर नितेशको भइसकेकी थिएँ । बुद्धिले सुमनलाई धोका दिनु हुँदैन भन्थ्यो भने भावनाले नितेशलाई छोड्न मानेन । सुमन म प्रतिको एकोहोरो प्रेममा गहिरी सकेका रहेछन । बुद्धि र मनको कुस्तीमा मेरो जीवन मिचिँदै थियो । साँढेका जुधाइमा मिचिएको बाछो जस्तै बनेर । जहिले पनि मसँग ऋतु ! तिमीजस्ती अप्सरा जीवनसाथी पाउनु मेरो भाग्य हो भन्ने गर्थे । सुमनको एकोहोरो प्रेमले मलाई निकै आभारी बनाएको थियो । तर, के गर्ने साच्चिँ नै मुटु त एउटा हुँदो रहेछ, एउटा मुटुलाई दुई ठाउँमा बाँड्न नमिल्ने रहेछ ।

छ महिनाको सुमनसँगको साथमा मलाई सुमनले कहिल्यै पनि मेरो इच्छा विपरीतको कुनै दबाब दिएनन् । विधिपूर्वक बिहा गरेकी श्रीमती भए पनि मैले उनलाई लोग्नेले पाउने अधिकार उपभोग गर्न दिइनँ । उनले मेरो मन जित्न निकै कोसिस गरेका थिए । तर पनि मेरो मन मुटु कहिल्यै सुमनलाई दिन सकिनँ । कहिल्यै मेरो माया दिन सकिनँ । आखिर म आफ्नै प्रेमी नितेशसँग साथ हुन पुगेँ । नितेशको प्रेममा रमाउन पुगेँ । नितेशको अँगालोमा हराउन पुगेँ । नितेशसँग जिन्दगी बिताउने निर्णय गरेँ । यो सबै कुरा सुमनलाई थाहा भयो । सुमनले आफूलाई सम्हाल्न सकेनन् । उनले मलाई पत्र लेखेछन्– मेरी प्राणप्यारी ऋतु‘ ! जन्मौ जन्म तिमीलाई प्यार, तिमीले जे गर्यौ राम्रो गर्यौ । तिम्रो केही दोष छैन । प्रिया, तिमी मेरो धड्कनमा हरदम रहने छौ ।

प्रिया, तिमी भौतिक रुपमा मेरो साथ नभए पनि मेरो प्रेम तिम्रो साथ सदासदाको लागि रहनेछ । मेरो सम्पूर्ण सम्पति ऋतुलाई दिनु ऋतुको कुनै दोष छैन भनी बाआमालाई सम्बोधन गर्दै लेखेको पन्नाको पत्र सिरानीमा राखी विष सेवन गरेर उनी सदासदाको लागि यो संसारबाट बिदा भएछन् । म मेरो नितेशसँगको पुनर्मिलनले संसारको सबै कुरा बिर्सिएर रमाउँदै थिएँ । एक्कासी सुमनका मृत्युको खबरले मलाई आकाशबाट खसेको जस्तो भयो ।

म भाववभोर भएँ, सुमनले मप्रति गरेको मायालु व्यवहारले क्षतविक्षत भएँ । सुमनले मायाको भिख मागे पनि मैले माया दिन सकिनँ । जीवनको भिख मागे जीवन दिन सकिनँ । उफ् मलाई निकै पश्चात्ताप भयो, जिन्दगीभर पश्चाताप भइरहेको छ … !