कोरोनाबाट ब च्न सेल्फ क्वारेन्टाइन अपनाऔँ : डा. पाण्डे

काठमाडाैं । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले मौसम परिवर्तनको बेला रुघाखोकी लाग्नु सामान्य रहेको बताएका छन्।

‘रुघाखोकी अरुलाई सर्न नदिन, आफू बिरामी भएको बेला अरुको रोग आफूलाई नसार्न तथा छिटो स्वास्थ्य लाभ गर्न ‘सेल्फ क्वारेन्टाइन ‘ अर्थात घरमै अलग्गै बस्नु अत्यन्त प्रभावकारी उपाय हो,’ उनले भनेका छन्, ‘घरमा बसेपछि समय समयमा तातोपानी, झोलिलो खाना, घरेलु औषधि, घामको चुम्बन, पारिवारिक स्याहार लगायत धेरै उर्जा प्राप्त हुन्छ ।’

सामाजिक सञ्जाल फेसबुकमा जानकारी मुलक सन्देश लेख्दै डा. पाण्डेले अगाडि भनेका छन्, ‘काम काम भनेर सधै जोतिने काम नगरौं। सन्चो नहुँदा आराम गरौँ। शरीरलाई पनि पावर ब्यांक चाहिन्छ, चार्ज गरिरहनुपर्छ, सर्भिसिंग गरिरहनुपर्छ।’

पछिल्लो तथ्यांक अनुसार विश्वमा १ लाख ५ हजार कोरोना संक्रमित पुष्टि भएका छन्।

‘सेल्फ हिलिंग ‘ धेरै रोगमा हुने गरेको उल्लेख गर्दै उनले टीबी, निमोनिया जस्ता रोगमा पनि ‘सेल्फ हिलिंग’ हुने गरेको बताएका छन्।

‘शरीरसँग आफूलाई लागेका रोग निको पार्ने प्रणाली छ, त्यसलाई जगाउन सक्नुपर्छ, आहार, बिहार र अचारले शरीरभित्रका डाक्टर फुर्तिला हुन्छन् अनि रोगलाई छिटो निको पार्छन्,’ उनले भनेका छन्, ‘अस्पताल नहुने युगमा पनि हाम्रा पुर्खा स्वस्थ भएर बाँचेका थिए, शरिलाई पैसा कमाउने मेसिन ठान्दा हामी दिनप्रतिदिन कमजोर भएका छौं, परिणाम त्यो हुन्छ, जे को लागि हामी दास बनेका छौं, त्यो सम्पूर्ण खर्च गर्दा पनि हामीले आफूलाई फेरि पाउन सक्दैनौं।’ -लोकान्तर