कोरोना भाईरसबाट विश्वभरी मृत्यु हुनेको संख्या तीन हजार, ८० हजारमा संक्रमण

कोरोना भाईरससंग लडन ट्रम्प सरकारले माग्यो एक अर्ब २५ करोड डलर

यादवराज जोशी

कोरोना भाईरसबाट विश्वभरी मृत्यु हुनेको संख्या करिव तीन हजार पुगेको छ । विश्वका ८० हजार मानिसमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।

विश्व स्वास्थ्य संगठनले मंगलबार दुई हजार सात सय सात जनाको मृत्यु भएको जनाएको छ । यस्तै ८० हजार तीनसय ४१ मा संक्रमण देखिएको छ ।

कोरोना भाईरस विश्वव्यापी चिन्ताको विषय बन्दै गएको छ । नयाँ नयाँ स्थानमा संक्रमण देखा पर्न थालेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वका ३७ देशमा यो भाईरसको संक्रमण देखा परेको मंगलबार जनाएको छ । अहिले कोरोना भाईरसको संक्रमण चीन, दक्षिण कोरिया, जापान, सिंगापुर, हड.कड.मा केन्द्रित देखिएको छ । ९० प्रतिसतभन्दा बढी व्यक्ति ति पाँच देशमा छन् । ईटालीमा दुईस्य ७० जनामा संक्रमण पुष्टी भएको छ ।

ईरानमा ९५ जनामा संक्रमण भएको पुष्टी भएको छ भने १५ जनाको मृत्यु भएको छ । ईरान पस्चिमी क्षेत्रमा ५० जनाभन्दा बढीको मृत्यु भएको कुरा संसदहरुले मंगलबार मंगलबार उठाएका छन् । यो संख्या सरकारी आकडामा छैन । बेलायत, फन्स, जर्मनीमा क्रमशः १३, १६ र १२ जनामा संक्रमण पुष्टी भएको छ । खाडीका देशहरु बहराईन, कुवेत, संयुक्त अरब ईमिरेट्समा दर्जनको संख्यामा संक्रमण देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपालमा एकजनामा संक्रमण देखिएको तर ति व्यक्ति पूर्ण निको भैसकेको जनाएको छ । दक्षिण कोरियामा मंगलबार एकसय ४४ व्यक्तिमा नयाँ संक्रमण देखिएको छ । यो सहित दक्षिण कोरियामा कोरोना भईरस संक्रमण हुनेको संख्या नौसय ७७ पुगेको छ ।

चिनिया अधिकारीका अनुसार, पाँच सय ८ नयाँ संक्रमण देखिएको छ । अहिलेसम्म चीनमा ७७ हजार ६ सय ५८ जनामा संक्रमण देखिएको छ भने २६ सय ६३ जनाको मृत्यु भएको छ । मंगलबारमात्र ७८ जनाको मृत्यु भएको हो । जापानको बन्दरगाहामा रोकिएको डाईमण्ड प्रिन्सेज जहाजका ६ सय ९१ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

हड.कड.ले विद्यालयहरु अप्रिल २० सम्मको लाग बन्द गरेको छ । बहराईनले दुवईसंगको हजाई सम्पर्क बन्द गरेको छ । युएई र बहराईनमा क्रमशः १३ र ६ जनामा संक्रमण देखिएको छ । अमेरिकामा ५३ जनामा कोरोना भाईरस संक्रमण देखिएको भएपनि ६ जना पूर्ण निको भैसकेका छन् ।

कोरोना भाईरससंग लडन अमेरिकी सरकारले काँग्रेससंग एक अर्ब २५ करोड अमेरिकी डलर बजेट माग गरेको छ । यो रकम डाईमण्ड प्रिन्सेजबाट उद्दार गरी सैनक बेसक्याम्पमा राखिएका अमेरिकी नागरिकको उपचारमा प्रयोग गरिने ह्वाईट हाउसले जनाएको छ । ह्वाईट हाउसले यसअघि नै इबोलासंग लडन छुट्टाएको पाँचसय ३५ मिलियन डलर बजेट कोरोना संक्रमण कोषमा सारेको छ ।

कोरोना भाईरस संक्रमणबाट सरदर २.१ प्रतिसत संक्रमितको मृत्यु भएको छ । यो संख्या भाईरसको उदगमस्थल चिनको वुहानमा ४.९ प्रतिसत र हुबेई प्रान्तमा ३.१ प्रतिसत छ । तर संक्रमित भएपछि अस्पताल भर्ना भएकामा मृत्युदर १५ प्रतिसतको हाराहारी छ ।

विश्वभरी कोरोना भाईरस संक्रमित भएका व्यक्तिको संख्या मंगलबार ४९ हजार आठसय ११ छ । यिनमा नौ हजार दुईसय १५ को अवस्था चिन्तजनक छ । २७ हजार आठसय १० जना निको भैसकेका छन् ।

स्रोतः विश्व स्वस्थ्य संगठन र विभिन्न समाचार एजेन्सी