पाथिभरामाताले सबैको कल्याण गरुँन ! पुष ५ गते शनिबारको राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल पुष ५ गते शनिबार ई. सं. २०१९ डिसेम्बर २१, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौष कृष्ण पक्ष दशमी तिथी, चित्रा नक्षत्र, चन्द्रमा बिहान ०९ बजेर २६ मिनेट सम्म कन्या राशि त्यसपछि तुला राशिमा स्थानान्तरण हुनेछन। शोभन योग, वव करण। नेपालमा, सूर्योदय बिहान ०६ः५१ बजे, सूर्यास्त साँझ ०५ः११ बजे हुनेछ। आज जन्म लिने बच्चाको बिहान ०९ बजेर २६ मिनेट सम्म कन्या राशि र त्यसपछि तुला राशि हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार समय, तिथि, नक्षत्र ईत्यादीमा पनि अन्तर हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज पेसा वा व्यावसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ । प्रेमभाव र प्रणयसुखका लागि अनुकूल समय छ । आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ७, शुभदिशा पश्चिम आज कार्यसफलताका लागि कार्यसिद्धि मन्त्र ॐ कामदेवाय नमः ११ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – दिनको सुरुवातमा बौद्धिक क्षेत्र राम्रो देखिन्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । रिसको कारणले असर पुर्याउने सम्भावना पनि देखिन्छ । प्रेमीप्रेमिकाका बीचमा खटपटी बढ्ने सम्भावना छ । आत्मबल र संयमता गुमाउनु हुँदैन । आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण । आज कार्य सफलताका लागि कार्यसिद्धि मन्त्र ॐ धन्वन्तरीदेवाय नमः ०८ पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । उदयकालको चतुर्थ चन्द्रमाका कारण सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । गृहस्थीजनहरूमा छोराछोरीका क्रियाकलापबाट उमङ्ग र हर्षको सञ्चार हुनेछ । आज तपाईका लागि शुभरङ्ग आकासे, शुभअङ्क ९, शुभदिशा पूर्व आज कार्य सफलताका लागि
कार्यसिद्धि मन्त्र ॐ वाग्देव्यै नमः ०७ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –सुरुमा तेस्रो भावमा चन्द्रमा रहेकाले सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट चौथो घरमा पुग्ने चन्द्रमाको प्रभावले असहज परिस्थिति सिर्जना हुनेछ । व्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ। आज तपाईका लागि शुभरङ्ग कलेजी, शुभअङ्क ४, शुभदिशा उत्तर। आज कार्य सफलताका लागि कार्यसिद्धि मन्त्र ॐ अष्टमातृकाभ्यो नमः ११ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे्) – सामाजिक काममा दौडधूप हुनसक्छ। सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन। पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन। विद्यार्र्थीहरूका लागि अभिभावक, गुरुजन र मान्यजनको सहानुभूति मिल्नेछ । आज तपाईका लागि शुभरङ्ग हरियो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्यसफलताका लागि कार्यसिद्धि मन्त्र ॐ कार्यविनायकाय नमः ०८ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज प्रायः सबैको दिन रमाइलो गरी बित्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । गृहस्थी व्यक्तिहरूका लागि कुटुम्बपक्ष, चेलीबेटी र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन। महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । आज साँझ आकस्मिक आम्दानीको योग छ । खानपान र घरायसी प्रयोजनमा खर्च बढ्न सक्छ । आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क २, शुभदिशा दक्षिण । आज का लागि कार्यसिद्धि मन्त्र ॐ सिद्धिलक्ष्म्यै नमः ११ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । व्यापारमा देखिएका समस्या हल हुनेछन। धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय जुर्न सक्नेछ । कारोबारीहरूका लागि समेत पेसा र व्यवसायबाट लाभ मिल्नेछ । गृहिणीहरूको मनमा देखिएको शंका निवारण हुने समय छ । आज तपाईका लागि शुभरङ्ग गुलाबी, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि कार्यसिद्धि मन्त्र ॐ अं अङ्गारकाय नमः १० पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – दिउँसो बाह्रौं भावमा चन्द्रमा जाने भएकाले दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । दिउँसो देखि एकातिर व्यवहारिक र दैनिक कामकाजको चाप बढ्ने समय छ भने गरेका काममा अवरोध आउने सम्भावना छ । गृहिणीहरूका लागि झोक र रिसराग बढ्ने समय हो, तर प्रतिशोधको भावना त्याग्नु राम्रो हुन्छ । घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुनसक्छ । व्यवसायीहरूमा घुमघाम, परोपकार र दानपुण्यमा मन आकर्षित हुनेछ । आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि कार्यसिद्धि मन्त्र ॐ बृं बृहस्पतये नमः १९ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आज जोखिम हुने काममा हात नहाल्नु राम्रो हुन्छ । सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुने सम्भावना छ, तर आफ्नै क्रियाकलापले नकारात्मक असर पर्न सक्छ । तपाईंले गर्नु भएको बाचा पूरा गर्न सङ्घर्ष गर्नुपर्ने दिन हो । बन्धुबान्धव र दाजुभाइले कामधन्दामा सहयोग नै गर्नेछन तर बन्नै लागेको कुनै काममा अवरोध आउन सक्छ, विवेकी भई लगनशीलता देखाउनु पर्छ । प्रेम तथा प्रणयसम्बन्धका लागि काम र व्यवहारको चापले गर्दा समय छुट्याउन सकिंदैन । त्यस्तै यात्राबाट पनि भनेजस्तो नहुनसक्छ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि कार्यसिद्धि मन्त्र ॐ शं शनिश्चराय नमः २३ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आज प्रातःकालमा विशेष गरी गृहिणीहरूको मन धर्म, दर्शन र अध्यात्मतर्फ आकर्षण हुनेछ । व्यवहारिक जिम्मेवारी, व्यापार वा कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । आम्दानीमा कमी आउने छैन । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहनेछ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि कार्यसिद्धि मन्त्र ॐ कुलदेवताभ्यो नमः २३ पटक जप गर्नु शुभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । खासगरी गृहिणीहरूको दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । काममा सफलता मिल्ने र भाग्यबल बढ्ने दिन छ, आजबाट रोकिएका काम पुनः बन्न थाल्नेछन । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा केशरी, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि कार्यसिद्धि मन्त्र ॐ धर्मराजाय नमः १९ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आज तपाईकोे काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यक्षेत्रमा समेत राम्रो छैन, आहारविहारप्रति सचेतता अपनाउनु पर्छ । निरर्थक यात्राको योग छ, खासगरी लामो दूरीको यात्रामा निस्कनु राम्रो हुँदैन । गृहिणीहरूको पति, कर्मचारीको हाकिम र छात्रछात्राको गुरुजन असन्तुष्ट बन्ने समय हो । त्यसैले हरेक क्रियाकलापमा सतर्क भई व्यवहार गर्नुपर्छ । आज मानसिक उद्वेगले सताउने समय छ, त्यस्तै झिनामसिना घरायसी कामको चाप बढ्ने छ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ८, शुभदिशा उत्तर । आज कार्य सफलताका लागि कार्यसिद्धि मन्त्र ॐ मृत्युञ्जयाय नमः १० पटक जप गर्नु शुभ हुनेछ।