भक्तपुरसम्वन्धी विशेष गीतको पोस्टर सार्वजनिक

भक्तपुर सम्वन्धी विशेष गीतको पोस्टर सार्वजनिक गरिएको छ । भक्तपुरको महत्व दर्शाउने गरि तयार गरिएको उक्त गीतको पोस्टर सार्वजनिक गरिएको हो ।

विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको पाँच तल्ले मन्दिर क्षेत्रमा छायांकन गरिएको उक्त गीतले भक्तपुरको धर्मिक, सास्कृतिक तथा पर्यटकीय सम्भावनालाई थप प्रबर्द्धन गर्दै नेपाल भ्रमण वर्ष सन् २०२० लाई सार्थक बनाउन सहयोगी भूमिका खेल्ने गीतका गायक तथा संयोजक कपिल कसपाल बताउँछन ।

यस गीतलाई बिश्वभरीका पर्यटन बजारमा पठाउन सकियोस र पर्यटकलाई सजिलै भक्तपुरप्रति आकर्षित गर्न सकियोस भन्ने उदेश्यले गीतको भिडियोमा शब्दलाई अंग्रेज़ीमा स्क्रोल्लिंग गरेर देखाइने व्यवस्था मिलाइएको भनाइ कसपालको छ । पाँच मिनेटको गीतमा भक्तपुरका सम्पुर्ण कला, भाषा,साहित्य, परम्परा, रीतिरिवाज र बस्तुस्थितिको चित्र उतार्ने प्रयत्न गरिएको गायक कसपाल बताउँछन ।

उक्त गीतलाई चर्चित व्यंग्यकार चट्याङ मास्टर (कृष्ण मुरारी गौतम ) ले लेखेका हुन् भने बिबि अनुरागीले संगीत भरेका छन् । गीतको अडियो ब्य्वस्थापन पत्रकार तथा साहित्यकार जितेन्द्र रसिकले गरेका बताइएको छ । भक्तपुर बिशेष गीतको निर्देशन चर्चित निर्देशक गम्भीर बिष्टले गरेका छन् । गीतमा ५ दर्जनभन्दा बढी नृत्य कलाकारहरुलाई नचाइएको छ भने भक्तपुरका सम्पुर्ण भेषभुषा, परम्परा, रितिरिवाजलाई एउटै फ्रेम भित्र अटाइएको छ ।

गीतको भिडियोमा भक्तपुरबाट राष्ट्रिय योगदान दिन तथा आफ्नो पहिचान बनाउन सफल चर्चित ब्यक्तित्वहरु वरिष्ठ सस्कृतिविद तेजेस्वर बाबु ग्वङ, वरिष्ठ संगीतकार दिपक जंगम, वरिष्ठ कलाकार हरि बहादुर थापा, वरिष्ठ गीतकार सुवाशचन्द्र ढुंगेल लगायत गायक कपिल कसपाल गीतकार चट्याङ मास्टर,अडियो ब्यवस्थापक तथा पत्रकार जितेन्द्र रसिकको अभिनय रहेको छ । त्यसैगरी चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, उप प्रमुख बिना बास्तोला,मध्यपुर ठिमी नगरपालिकाकी उप प्रमुख अन्जना देवी मधिकर्मी सहित जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालदेखि स्थानीय चर्चित नृत्य कलाकारहरु समेत यसमा समेटिएका बताइएको छ ।

गीतबारे सबैबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको भन्दै गायक कसपालले सहयोगका लागि बिभिन्न निकायमा पत्राचार समेत भएको भनेका छन् । उनले छिट्टै नै एक भब्य कार्यक्रमको आयोजना गरेर गीतको अडियो /भिडियो लोकार्पण गरिने जानकारी गराए ।