अछामका महिलालाई सेनिटरी प्याड उत्पादन तालिम

जगत विष्ट
२२ असार
विनायक (अछाम)।

अछामको पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरुलाई सेनिटरी प्याड उत्पादन तालिम सुरु भएको छ । पुनः प्रयोग गर्न मिल्ले गरी प्याड उत्पादन गर्ने तीन दिने तालिम आइतबारदेखि सुरु भएको हो ।
छाउपडी प्रथाबाट प्रभावित नगरका महिलाहरुलाई नौ वटा समूह बनाएर तामिल दिन लागिएको छ । यो तालिमले महिलाहरुलाई महिनावरी हुँदा सुरक्षित बनाउको साथै उद्दमशीलता समेत बनाउने छ ।

नगरपालिकाको आर्थिक सहयोग र संवाद डबलीको समन्वयमा सुरु भएको तालिममा महिलाहरुको उत्साहजनक सहभागीता रहेको छ । नगरपालिकाका ९ वटै वडामा एउटा–एउटा समूह बनाइएको छ । पत्येक समूहमा तीन–तीन जना महिला हुने संवाद डबलीका सचिव धनन्वय बुढाले जानकारी दिएका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख देवराज देबकोटाले सहभागिले बढीभन्दा बढी महेनत र क्षमताको विकास गर्ने विश्वास व्यक्त गरे । देबकोटाले विगतमा पनि यस्ता धेरै कार्यक्रमहरु हुँदै आएको भएपनि यो कार्यक्रबाट क्षमताको विकास गरेर विशेष उपलब्धि हुनुपर्ने धारणा राखे ।

त्यसैगरी, नगर उप–प्रमुख अम्बिका चलाउनेले पहिले पनि विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा गरेको र यसपटक संवाद डबलीसँगको सहकार्यमा भएको तालिमपनि फलदायी हुने विश्वास लिएको बताइन् । २१ औं शताब्दीमा पनि अन्धविश्वास तथा लाजको विषय बनाएर अव्यवस्थित महिनावारीबाट महिलाहरु पीडित हुनु दुःखत विषय भएको धारणा राखिन् । आफुले पनि विगतमा यस्तो समस्या भोगेको स्मरण गर्दै भनिन् “यहि सामाजिक परिवेशको कारण मानसिक तथा सारीरिक ठूलो प्रताडन भोगेको थिएँ, तर अहिले यसमाथि मलगायत धेरैले विजय प्राप्त गरेका छौं । अब देशबाटै छाउपडी समस्या उन्मुलन गर्नुपर्छ ।” चलाउनेले विगतका तालिमको उपलब्धिको कारण कयौं महिला यस समस्याबाट मुक्त मात्रै नभएर प्याड ब्यवसायबाट उद्यमशील पनि भइसकेको जानकारी दिइन् ।

संवाद डबलीका सचिव धनन्जय बुढाले संचार माध्यम र सरोकारवाला पक्षको सहकार्यमा सामाजिक समस्याको समाधानको प्रयासले छिटो सफलता प्राप्त गर्ने धारणा राखे। सो तीन दिने तालिमकी प्रमुख प्रशिक्षक मिना विष्टले विगत लामो समयदेखि महिनावारी व्यवस्थापन तथा सामाजिक जनचेतनाको क्षेत्रमा काम गर्दै आएको अनुभवसहित सहभागी प्रशिक्षार्थीहरुलाई उद्यमशील बन्न आह्वान गरिन् । उनले छाउपडी समस्याको हलमात्र खोज्नेभन्दा यसैमाथि टेकेर उद्यमशील बन्न सकिने सम्भावना रहेको जानकारी दिइन्। कार्यक्रमा आठ नम्बर वडा अध्यक्ष ताराप्रसाद खनाल, नगरका प्रशासकीय अधिकृत लक्ष्मिकान्त बजगाईलगायतको उस्थिति रहेको थियो ।

समूहले उत्पादन गरेको प्याड वडाका महिलाहरुको साथै आसपासका क्षेत्रमा पनि बजारीकरण गर्नेछन् । जसले छाउपडी प्रथाविरुद्धको अभियानसँगै महिलाहरुलाई उद्यमशील समेत बनाउने छ।