कुदिरहेको रेल अगाडि हाम्फालेर आत्महत्या गर्दाको दृश्य जे देखे तेही लेखे !

निर्पेश उप्रेती, बेलायत
बिगत १४ बर्ष देखि बेलायतको रेल सेवामा कार्यरत छु। यसमा काम गर्दाका धेरै आकर्षक पक्षहरु छन्। तलब भत्ता पनि नराम्रो छैन। आन्तरिक र युरोपमा समेत परिवारलाई नै निशुल्क यात्राको सुबिधा छ। राम्रो पेन्सन अर्थात सजिलो बुढेसकाल। तर यहाँ कामको क्रममा यस्ता घटनाहरुको कहिले काहिँ प्रत्यक्षदर्शी हुनुपर्छ जसले जिन्दगी भर नमीठो छाप छोड्छन्।

हिजो म मेरै route को huntingdon स्टेसनमा थिएँ। प्लेटफर्मबाट टिकेट ब्यारियर तिर जाने क्रममा ढोकाबाट फर्केर रेलको ट्र्याक तिर हेरेँ। एउटा intercity ट्रेन १६० माइल प्रती घन्टाको गतिमा कुदेर आइरहेको थियो। अर्को साइडको प्लेटफर्मबाट कोही ट्रेनको अगाडि हामफाल्यो। त्यो उच्च गतिको ट्रेनले यसरी hit गर्यो कि शरीर चिल्था चिल्था भयो। शरीरको कुनै भाग उछिट्टिएर over head wire( जहाँ बाट ट्रेन चल्न electricity प्राप्त हुन्छ) सम्म पुग्दा आगोको झिल्को र धुवाँ देखियो।

उच्च गतिको उक्त ट्रेन छिन भर मै म भएको स्टेसन काटेर गयो। त्यसपछि को मन्जर यति भयावाह थियो कि ३० सेकेन्ड सम्म त मेरो आँखा र मस्तिष्कले केही read नै गरेन चेतना शून्य भयो। त्यस पछि हेरेको उक्त मान्छे को एउता हात उछिट्टिएर अर्को प्लेटफर्म पुगेछ। ट्र्याक भरी शरीरको टुक्रा टुक्रा र बाँकी शरीर काटिएको कुखुरो जस्तो एउटा ट्र्याको बिचमा थियो। त्यो देखेर मलाई रिंगटा लागेको जस्तो वाकवाकी आए जस्तो भयो। तर आफूलाई सम्हाल्नुको बिकल्प थिएन। सिग्नललाई खबर गरेर सम्पुर्ण ट्रेनहरु रोकियो। पुलिस प्रसासन एम्बुलेन्स डाक्टर सबैलाई हाम्रो टिमले खबर गर्यो।

लगभग चार घन्टा रेल सेवा बन्द गरियो। rescue टिमले उसको शरीरको हरेक अंग अंग यसरी बटुल्यो जसरी हाम्री आमाले छरिएको बिस्कुन बटुल्नु हुन्थ्यो। र अन्य सम्पूर्ण प्रक्रिया पूरा गरे पछि मात्र सेवा सुचारु भयो। मलाई यो घटना भुल्न समय लाग्छ, सायद भुल्न सक्दिन होला कहिल्यै। धेरै पटक fatality को बेला काम गरेको छु। तर यस्तो मन्जर चाहिँ पहिलो पटक देखेको हो।
त्यो कुनै हत्या या दुर्घटना थिएन। आत्महत्या थियो। बेलायतमा यसरी आत्महत्या गर्नेको संख्या धेरै छ। हरेक हप्ता हामी कुनै कुनै लाइनमा यस्ता घटना घटेको सुनिरहेका हुन्छौं। कति पटक हामीले नै शंकास्पद त्यस्ता मान्छेहरुलाई आत्महत्या गर्नु पुर्व नै उद्दार गरेर उपचारको लागि पठाएका छौं ।

पछिल्लो समय त कुदिरहेको रेल अगाडि हाम्फालेर आत्महत्या गर्नेको संख्या बढिरहेको छ। सरकार र रेलवे अत्यन्तै संबेदनसिल पनि बनेको छ। हेरौं आगामी दिनमा कस्ता कार्यक्रमहरु ल्याउँछन्। यसरी आत्महत्या गर्दा अन्य यात्रुहरुलाई पर्ने असर त्यति कै नमीठो छ। बैकल्पिक यात्रा झन लामो र असहज हुनेछ। हिजो नै हामीले शहर भरिका ट्याक्सीहरु मार्फत उनीहरूको यात्रालाई अघि बढायौं। मर्ने मरेर जान्छ, उसका परिवारका सदस्यहरुलाई जीवनभरको लागि नमीठो घाउ दिएर जान्छ, तत्काल अन्य हजारौं यात्रीहरुलाई पनि असहज स्थिति पैदा गरेर जान्छ।

आत्महत्याको कारण धेरै होलान् तर मुख्य कारण depression हो। depression भन्दा डर लाग्दो रोग सायदै अर्को होला दुनियाँमा। त्यसैले जीवनमा हरेक पल सकारात्मक सोचौं। आफूलाई एक्लो हुन नदिऔं र एकबारको जीवनको भरपुर मजा लिदैं सदुपयोग गरौं । आखिर नमर्ने त को नै छ र!!