उडायो सपना सबै हुरीले, बिहान खाना खाएर बजार गए, साँझ फर्कदा चिटिक्क परेको गाउँ चिन्नै नसक्ने भईसकेछ

गाउँमा अधिकांश घरपरिवार रातको खानाको तयारी, बालबालिकाहरु पढ्ने तयारीमा थिए भने कार्यालय सकेर घर फर्किनेहरु थकित मुद्रामा घर जाँदै थिए । तर एक्कासि आएको आँधी तुफानले बद्लिएको गाउँमा पुग्दा अधिकांश घरपरिवार घरबारविहीन भइसकेका थिए ।

फेटा गाउँपालिका वडानम्बर १, २, ३, ६ लगायतका भरवलिया, पुरेनिया, भुलुवाही टोल र कलैयामा पनि अधिकांश कच्ची तथा पक्की घरहरु समेत आँधी तुफानको शिकार भएका छन् ।

सोमबार दिउँसोबाट फेका गाउँपालिकाले चिकित्सकहरुको टोली र स्वास्थ्य सामग्रीहरु पठाउनुका साथै खानाका लागि च्युरा, दालमोटलगायतका राहत वितरण गरेको छ । आइतबार बेलुकी आएको आँधी तुफानले दर्जनौँ चौपाया, दर्जनभन्दा बढी मानवीय क्षति, ४ सय भन्दा बढी मानिस घाइते र खाद्यन्नको समेत ठूलो नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।