विदेशबाट फर्किएर उद्यममा रमाउँदै दाहाल (हेर्नुहोस् भिडियो)

मधुमल्ला ÷ भनिन्छ सबैभन्दा साह्रो ढुङ्गा र त्योभन्दा पनि साह्रो आर्थिक अभाव । आर्थिक अभाबकै कारण दैनिकजसो युवाहरु बैदेशिक रोजगारतर्फ विभिन्न मुलुकहरु प्रस्थान गरिरहेका छन् । धन कमाउने र परिवारलाई सुखसँग पाल्ने सपना बनेर विदेशीनेको जमात ठूलो छ । सरकारले उचित रुपमा रोजगारीको ब्यवस्था गर्न नसक्दा युवाहरु विदेशीन बाध्य छन् ।

यस्तै, सपना देखेर मोरङको उर्लाबारी–१ का दिनेश दाहाल दुई बर्ष दुबई, २ बर्ष मलेसिया र १ बर्ष इजरायलमा विताए । गत भदौमा बैदेशिक रोजगारबाट फर्किएर उनले आफ्नै देशमा केही गर्ने जमर्को गरे । दुःखसुख आफ्नै देशमा केही गरौं भनेर उर्लाबारी–१ मा इन्टरलक इट्टा उद्योग सञ्चालन सुरु गरेको उनले बताए । करिब १५ लाख रुपैयाँको लगानीमा बी एण्ड डी सीएसईबी ईटा उद्योग सञ्चालन गरेको उनको भनाई छ ।

इन्टरलक इट्टा भूकम्प प्रतिरोधी र उच्च गुणस्तरीय, पोलिएको इट्टाभन्दा २०÷३० प्रतिशत कम लागत, न्यून ढुवानी खर्च र ६० प्रतिशत कम कार्बन उत्सर्जन, स्थानीय रुपमा इट्टा उत्पादन र गुणस्तरीय नियन्त्रण, अति कम लागतमा बलियो इट्टा, सिमेन्ट कम लाग्ने र गारोमा प्लाष्टर गर्न नगर्ने, छिटो – छरितो र सजिलो तरिकाले निर्माण गर्न सकिने, जाडोमा न्यानो र गर्मीमा कम तातो हुने विशेषता रहेको उनले जानकारी दिए । मासिक रुपमा सम्पूर्ण खर्च कटाएर ६० हजार रुपैयाँ बचत हुने गरेको उनले बताए । उनले हाल ८ जनालाई उद्योगमा रोजगारीसमेत दिएका छन् । तीन महिला अघिदेखि सञ्चालनमा ल्याएको उक्त उद्योगबाट आफू सन्तुष्ट रहेको र आगामी दिनमा अझै विस्तार गर्दै जाने उनको सोचाई छ । विदेशीमा गरेको दुःखले उनलाई स्वदेशमै बसेर केही गर्ने उत्साह जाग्यो ।

त्यसैले उनले मुलुकका धेरै ठाउँमा पुगेर इन्टरलक इट्टाको अध्ययन गरी त्यसैमा हात हाले । ‘विदेशको हण्डरले स्वदेशमा केही गर्न सिकायो,’ उनी भन्छन् ‘कमाइ भए पनि परिवार छोडेर अर्काको देशमा कतिन्जेल बस्ने ?’‘विदेश भनेको क्षणिक समय, बल र उमेर रहुन्जेल मात्रै हो । बल सकिएपछि
स्वदेश फर्किनुको विकल्प छैन’, उनी भन्छन्, ‘स्वदेशी श्रम नै दिगो भएकाले यसैमा लागे भविष्य सुरक्षित हुन्छ ।’