घरेलु हिंसा उच्च भएको शहर जिलोङमा नेपालीद्धारा घरेलु हिंसासम्बन्धी कार्यक्रम

अस्ट्रेलियाको भिक्टोरिया राज्यको जिलोङका सांसद क्रिस्चिन कौजेन्सले आफ्नो मन्तब्य दिने क्रममा घरेलु हिंसाका दृष्‍टिकोणले जिलोङ सबैभन्दा माथि रहेको भनी जानकारी दिनु भएकै शहर जिलोङमा दिदी-बहिनी समाज भिक्टोरियाले घरेलु हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको शुरुमा नै बोल्ने क्रममा सांसद कृस्चिनले आण्ड्र्यु सरकारले घरेलु हिंसासम्बन्धी समस्या समाधानका लागि अख्तियारी गरेका कार्यहरुमाथि प्रकाश पार्दै यो समस्या समाधानका खातिर २२७ वटा सुझाबहरु प्राप्त भएको जानकारी दिंदै समस्या समाधानको लागि लामो दूरी तय गर्नु पर्ने बताउनु भयो ।

सांसद क्रिस्चिनको मन्तब्यपछि दिदी-बहिनी समाज भिक्टोरियाद्धारा तयार गरिएको घरेलु हिंसा बिरुद्धको १० मिनेट १३ सेकेण्डको “अब त म बोल्छु” जनचेतना मूलक लघु सामाजिक चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्र प्रदर्शनपस्चात कार्यक्रममा उपस्थित बिभिन्न ब्यक्तिहरुसंग प्रतिकृया लिइएको थियो ।

प्रतिकृया दिने क्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले यो जनचेनतामूलक चलचित्र नेपालीले तयार गरे तापनि यो विस्वब्यापी समस्या भएको र अस्ट्रेलिया जस्तो देशमा जहाँँ सरकार यो बिषयमा अत्यन्तै संबेदनशिल हुँदाहुँदै पनि घरेलु हिंसाका कारण प्रतिदिन झन्डै एक जनाको मृत्‍यु हुने भएकोले यो बिषयमा सबै समुदायको बीच गएर बिभिन्न चरणमा बिभिन्न चराणका चलचित्र चरणबद्ध रुपमा निर्माण गरिनु पर्ने बताउनु भयो ।

प्रहरी अधिकृतको समेत जिम्मेवारी बहन गरिसक्नु भएका जिलोङ काउन्सिलकी सामुदायिक बिकास अधिकृत भीमा मुनिआपाहले यो फिल्म शुरुवाती मात्रै भएको र बिभिन्न चरणका श्रृंखलाहरु तयार गरिनुपर्ने कुरामा जोड दिंदै यस्मा आफ्नोतर्फबाट संधै सक्दो सहयोग र समर्थन रहने बताउनु भयो ।

लाजारस सेण्टरका निर्देशक माइकल नोलान, डिकिन युनिभर्सिटिका वरिष्ठ अन्तरराष्ट्रिय बिद्यार्थी सल्लाहकार लिजा ट्रेभास्किस, सिरियन समुदायका लिडर मुख्लेश हबास लगायत थुप्रै नेपालीहरुले पनि प्रतिकृया दिएका थिए ।

दिदी-बहिनी समाज भिक्टोरियाका तर्फबाट बर्षा केसी राजभण्डारीले यो फिल्म बनाउनुपर्ने अबधारणा कसरी बिकास भयो भन्ने बिषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको लागि हल नि:शुल्क रुपमा उपलब्ध गराउने, स्थानिय पत्रिका जिलोङ एडभर्टाइजरमा कार्यक्रमबारे जानकारी प्रकाशित गराउने, जिलोङस्थित संपूर्ण संस्थाहरुसंग समन्वय गरी प्रतिनिधिहरुलाई आमन्त्रण गर्ने र कार्यक्रमको उदघोषण गर्ने काम जिलोङ निवासी ज्ञानेन्द्र उप्रेतीले गर्नु भएको थियो ।