ल्होत्से मलमा ८ करोडको मोबाइल लुटपाट भएको दाबी, क्षतिपूर्ति सरकारले दिनुपर्ने

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा सोमबार ल्होत्से मलमा भएको लुटपाट र तोडफोडको क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ । ल्होत्से मलका मोबाइल पसलहरुमा करिब ८ करोडभन्दा बढी रकम बराबरको लुटपाट र तोडफोड भएको दाबीसहित क्षतिपूर्ति माग गरिएको हो ।

आज (मंगलबार) महासंघले नयाँ बसपार्कमा ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै नयाँ बसपार्कभित्र ल्होत्से मलमा भएको लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरुका माग सम्बोधन नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिए । उहाँले १५ घण्टा हुँदासम्म राज्य घटनाप्रति मौन बस्नु व्यवसायीहरुको पक्षमा सरकार नदेखिएको आरोप समेत ललाए ।

पसल लुटपाट गर्नेहरुको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन समेत अध्यक्ष भट्टराईले माग गरे । लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएकाउ उनको भनाइ छ । उनले सोमवारको घटनाबाट मुलुकको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुने भन्दै व्यवसायीहरुले निर्धक्क भएर व्यवसाय गर्ने वातावरण पनि नभएको सन्देश गएको बताए ।

त्यस्तै, महासंघका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले करिव ८ देखि ९ करोड रुपैयाँ बराबरको मोबाइल, पैसा र अन्य सामग्रीहरु लुटिएको बताए । उनले सरकारले घटनाबाट भएको क्षतिपूर्ति दिने विश्वास रहेको समेत बताए । सामान्य व्यवसायीहरुले गरिखान समेत ठूलो समस्या आएको भन्दै राज्यले व्यवसायलाई सुरक्षित बनाउन नसकेको अरोप लगाए । उहाँले ल्होत्से मलमा रहेका चालिसेको एसीडीसी मोबाइल पसल र डायमण्ड स्टार इन्भेस्टमेन्ट गु्रप प्रा.लि.मा लुटपाट भएको बताए ।

त्यस्तै महासंघका महासचिव रमेश घिमिरेले आफ्नो व्यवसायबाट जीविकोपार्जन गर्ने सुरक्षित वातावरण नभएको बताए । उनले यातायात मजदुरहरुले आन्दोलनका नाममा पसलहरु लुटपाट गर्ने काम भएको भन्दै घटनाको जिम्मा सरकार वा आन्दोलनकारी दुवैले लिनुपर्ने बताए ।

मोबाइल व्यवसायीहरूले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् । पसलको सिसिटिभी फुटेजसमेत सार्वजनिक भएको छ । महासंघले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने भएको छ ।