छोराकै कारणले गर्दा सम्बन्ध टुटेका तर, अहिले त्यै छोराले जोडे निहारिका र शिवराजको सम्बन्ध

आफूलाई ‘कुमारी आमा’ बताउँदै आन्दोलनरत निहारिका राजपुतको साताभित्र बिहे हुने निश्चित भएपछि बुधबार अपराह्न ४ बजे उनी बर्दिवासमा किनमेल गरिरहेको अवस्थामा भेटिइन् ।

उनको साथमा छोरा बिआन मात्र थिएनन्, शिवराज श्रेष्ठ पनि थिए । तर, ठीक तीन महिना अघिसम्म अर्कै परिस्थिति थियो । निहारिका शिवराजलाई ब’लात्कार आरोप लगाउँदै आन्दोलनरत थिइन् । राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास, पटकपटकको गिरफ्तारी र अनशनपछि सरकार उनको माग

सम्बोधन गर्ने बाटोमा अघि बढेको थियो । शिवराजले बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । तर, निहारिकाको माग बमोजिम बच्चा र शिवराजको डीएनए परीक्षण गर्ने निर्णय भयो । १८ कात्तिकमा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको बच्चाको डीएनए जाँच श्रेष्ठबाट निकालिएको डीएनएनको नमूनासँग मेल खायो ।

पहिले निहारिकाले डीएनए मेल खाए श्रेष्ठलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेकी थिइन् । तर, सोमबार एकाएक निहारिका र शिवराजबीच जिल्ला अदालत, धनुषामा मिलापत्र भएको छ । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम निहारिकाले शिवराजसँग मिलापत्र गरेकी हुन् ।

आइतबार मात्रै जिल्ला अदालत, धनुषामा निहारिकाले अंश मुद्दा दिएकी थिइन् । सोमबार मिलापत्र गरी दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय भएको जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए । ‘म र नाबालक छोरा समेतलाई इज्जत अनुसार खान, लाउन, औषधोपचार खर्च, छोराको पढाइ लेखाइ खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेको’, मिलापत्रमा भनिएको छ ।

उनीहरुले सोमबार मिलापत्र मात्र गरेनन्, अदालती विवाह (कोर्ट म्यारिज) समेत गरिसकेका छन् । यही साताभित्र सामाजिक परम्परा अनुसार मन्दिरमा पनि विवाह गर्ने तयारी गरेको निहारिकाले बताइन् । ‘अदालतमा कोर्ट म्यारेज भइसक्यो, यही साता मन्दिरमा पनि परिवारसहित टिकाटालो गर्दैछौं’, उनले अनलाइनखबरसँग भनिन्, ‘राम्रोसँग जिन्दगी बितोस् भन्ने हो, त्यही सोचेर अगाडि बढेको छु ।’